
पोखरा, २६ फागुन-
नेपाली काँग्रेस पोखरा उपमहानगर समितिले बिहीबार पोखरामा नगर सम्मेलन गर्दैछ।
सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नगर सभापति बजिरमान श्रेष्ठले जानकारी दिए। सम्मेलनमा वडा सभापति, जिल्ला कार्यसमितिका पदाधिकारी सदस्य, क्षेत्रका पदाधिकारी तथा सदस्य, भातृ संस्थाका पदाधिकारी सदस्य, नगरका क्रियाशिल सदस्य गरी दुईहजार जनाको सहभागिता रहने छ। छिमेकी जिल्लाका अगुवा कार्यकर्ता पनि सहभागि जनाउनेछन्।
सम्मेलनको काँग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कास्की काँग्रेसका सदस्य नवीन सिग्देलले जानकारी दिए। सम्मेलनको उद्घाटनका लागि सभापति देउवा बुधबार नै पोखरा आइसकेका छन्।
सम्मेलन उद्घाटनपछि बिहीबार नै सभापति देउवा राजधानी फर्कने कार्यक्रम छ। सम्मेलनको उद्घाटन समारोहमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता गोपालमान श्रेष्ठ, डा मिनेन्द्र रिजाले लगायतका नेता सहभागि हुनेछन्।
