
पोखरा, २६ फागुन-
पोखरा उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुको लागि सामुहिक स्वास्थ्य बीमा सुरु गरेको छ । संघले शिखर इन्स्योरेन्ससँगको सहकार्यमा यो अभियान थालेको हो ।
संघले विहीबार बगर, दीप, लामाचौर, अर्मला क्षेत्रका सदस्यहरुलाई लक्षित गरी सो अभियान सुरु गरेको हो । बदलिँदो जीवन शैली तथा स्वास्थ्य सेवा महङ्गो भएको सन्दर्भमा आफ्ना सदस्यहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्राप्त होस् भन्ने हेतुले यो अभियान संचालन गरिएको संघका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिनुभयो । अभियानलाई पोखराका सबै क्षेत्रमा बिस्तार गरिने पनि उहाँले बताउनुभयो ।
संघले स्वास्थ्यका साथै आगलागि, भूकम्प र प्रकोपसम्बन्धी वीमा समेत अगाडि बढाएको छ । व्यवसायीहरुलाई सामुहिक वीमा मार्फत आफ्नो लगानी सुरक्षित बनाउनको लागि आगजनी, भूकम्प तथा प्रकोपको सामूहिक वीमाको अभियान नै संचालन गरिएको उहाँले बताउनुभयो । वीमाको दर, सेवा तथा सर्तहरुबारे व्यवसायीहरुलाई सामूहिक तथा व्यक्तिगत रुपले जानकारी संघका सदस्यहरुलाई प्रदान गरिने पनि उहाँको भनाई रहेको थियो ।
बिहीबार भएको कार्यक्रममा शिखर इन्स्योरेन्सका पोखरा शाखा प्रमुख सुनयना पालिखे तथा मार्केटिङ म्यानेजर शिव देवकोटाले विभिन्न खाले वीमाका फाइदाहरुबारे जानकारी दिनुभएको थियो ।
