
रञ्जन अधिकारी पोखरा, १८ चैत । पोखरा लेखनाथका सुवास गुरुङ सातौँ सँस्करणको बिग आइकन बनेका छन् । चितवन पटिहानीका सागर आले र पोखरा संगमटोलकी प्रिया गुरुङलाई पछि पार्दै उनले उपाधि जितेका हुन् । दोस्रो सहभागितामा उपाधि चुमेका सुवासले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गरेका छन् । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गरे ।
पत्रकारिता क्षेत्रमा लामो योगदान दिएका साझा पार्टीका परिकल्पनाकार रविन्द्र मिश्रलाई रेडियोले प्रमुख अतिथिका रुपमा पोखरा निम्त्याएको थियो । मिश्रले बिग एफएमले गायन प्रतिभाका लागि मञ्च प्रदान गरेर सराहनीय कार्य गरेको बताए ।
५४ जिल्लाका ११ सय ५२ प्रतिस्पर्धीमध्येबाट छानिएर तीन जना प्रतिस्पर्धीहरु ग्राण्ड फिनालेमा भिडेका थिए । तीन जनाबाट विजेताको छनौट भोट मार्फत गरिएको हो । करिब २ महिनाको अन्तरालमा भएको २२ भन्दा बढि विभिन्न राउण्ड पार गरेपछि मात्रै उनीहरु यहाँसम्म आइपुगेका हुन् ।
यो पटकको बिग आइकनमा गायक श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र संगीतकार सुनील थापा निर्णायक रहेका थिए । कार्यक्रममा फाइनलिस्टसँगै उत्कृष्ट १० मा परेका सम्पूर्ण प्रतिस्पर्धी र पूर्व बिग आईकन साजन आले र मुस्कान रानाभाटले पनि प्रस्तुति राखे ।
प्रवेश शुल्कवापत ५० रुपैंयाको दरले संकलन गरिएको ५२ हजार बढि रकम रेडियोले कार्यक्रममै पोखरा उद्योग वाणिज्य संघ, बालश्रम न्युनिकरण कार्यक्रमलाई हस्तान्तरण गरेको छ । बिग एफएमका अध्यक्ष महेश भण्डारीले न्युनिकरण कार्यक्रम संयोजक भक्तराज रसाइलीलाई सो बराबरको चेक हस्तान्तरण गरे । यो लगातार चौथो पटकको सहयोग हो ।
यो पटक बिग आइकनको टाइटल स्पोन्सर सामसुङ ग्यालेक्सी जे टु सिक्सले गरेको छ । बिग आइकनको ईन एशोसियसन विथ टाइटलमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाईमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाईमा पोखरा ट्रेड मल, प्रोमोटेड बाइमा द ब्रिटिश कलेज थापाथली, ब्रट टु यु बाइमा रारा चाउचाउ, मेन–स्पोन्सरमा इम्पल्स इन्टरनेशनल इन्स्टिच्यूट, मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी रहेका छन् ।
प्रथम पुरस्कार ‘एमएडब्लू’ इन्टरप्राइजेज प्रालिले गरेको हो । त्यस्तै कार्यक्रमको स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला र मिलिजुली डेकोरेशन, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालि रहेका छन् ।
त्यस्तै आइटी पार्टनरमा कम्यूनिकेट टेक्नोलोजिस, ब्रोडकास्टिङ पार्टनरमा एभिन्यूज टिभी र फेवा टेलिभिजन, हस्पिटालिटि पार्टनरमा होटल बाराही, भेन्यू पार्टनरमा रोयल पोखरा रेस्ट्रो एण्ड लाउन्ज बार, विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाइनखबर डटकम र समाधान दैनिक तथा अनलाइन पार्टनरमा जक्शन डटकमले सहकार्य गरेका छन् ।
