
वैशाख ५ / चेल्सीका कप्तान जोन टेरीले यो सिजनको अन्त्यमा क्लब छोड्ने घोषणा गरेका छन् । झण्डै दुई दशकदेखि चेल्सीमा रहेका टेरीले यो सिजनको अन्त्यमा क्लब छोड्ने भएका हुन् ।
टेरीले सन् १९९८ मा डेब्यु गरेका थिए । ३६ वर्षका टेरी १४ वर्षको हुँदा चेल्सीमा छिरेका थिए । चेल्सीबाट अहिलेसम्म सबै प्रतियोगितामा गरेर ७१३ खेल खेलेका छन् । त्यसमध्ये ५७८ खेलमा त कप्तानको भूमिकामा खेलिसकेका छन् ।
उनले चारपटक प्रिमियर लिगको उपाधि जितेका छन् । यस्तै उनले एकपटक च्याम्पियन्स लिग, पाँचपटक एफए कप, एक पटक युरोपा लिग र तीनपटक लिग कपको उपाधि चेल्सीबाट उचालिसकेका छन् ।
उनले अहिलेसम्म क्लबबाट ६६ गोल गरेका छन् । यो सिजन उनले अहिलेसम्म प्रिमियर लिगका चार खेलमा मात्रै खेल्न पाएका छन् । उनले १७ वर्षको हुँदा लिग कपको खेलबाट चेल्सीबाट डेब्यु गरेका थिए । १९ वर्षको अवधिमा उनले प्रिमियर लिगमा ४० गोल गरेका छन् ।
