
वैशाख २६ –ब्राजिलको फुटबल क्लब चापेकोएन्सेले सान्टा काटारिना स्टेट च्याम्पियनसिपको उपाधि जितेको छ । विमान दुर्घटनामा टिमका १९ खेलाडी तथा २४ पदाधिकारी गुमाएपछि यो सिजन २५ नयाँ खेलाडी अनुबन्ध गरेको चापेकोएन्सेले दुर्घटना भएको ६ मिहना भित्रमा उपाधि जितेको हो ।
गएको नोभेम्बरमा भएको दुर्घटनामा क्लबका तीन खेलडी मात्रै बाँच्न सफल भएका थिए । ब्राजिल तथा अर्जेन्टिनाका शीर्ष क्लबले चापेकोएन्सेलाई लोनमा खेलाडी उपलब्ध गराएका थिए ।
उसले लगातार दोस्रो सिजन उपाधि जितेको हो । कोपा साउथअमेरकानाको फाइनल खेल्नका लागि कोलम्बिया जाने क्रममा गएको नोभेम्बरमा विमान दुर्घटना भएको हो । दुघर्टनामा क्लबका १९ खेलाडीसहित ७१ जनाको ज्यान गएको थियो । दुर्घटनामा डिफेन्डर निटो र एलन रुस्चेल तथा गोलरक्षक ज्याक्सन फाल्लमान्नसहित ६ जना विमान दुर्घटनामा बाँच्न सफल भएका थिए ।
