
मुलुककै ठूलो पोखरा लेखनाथ महानगरपालिका पाँच वर्ष हाँक्नका लागि नेकपा एमालेका तर्फबाट मानबहादुर जिसी चुनावी मैदानमा छन् । २०३७ सालदेखि राजनीतिमा होमिएका जिसी पार्टीमा जोडिएको ठ्याक्कै ३७ वर्ष नै भयो । २०१७ साल भदौ १७ गते साविक कालिका गाविस वडा नं. ५, कास्कीमै जन्मिएका जिसी कालिका गाउँ सचिव, इलाका सचिव हुँदै २०४९ सालमा र २०५४ सालमा दुई पटकसम्म गाउँ कमिटि अध्यक्ष बने । २०५० सालमा कास्की जिल्ला सदस्य बनेका उनी २०६९ सालसम्मको बीचमा क्षेत्र नं. १ संयोजक, जिल्ला उपसचिव, सचिव हुँदै अध्यक्ष बने । हाल जिल्ला ईञ्चार्ज तथा पार्टी केन्द्रिय वैकल्पिक सदस्य हुन् । गाउँ विकास समिति राष्ट्रिय महासघ नेपालका केन्द्रिय सचिवालय सदस्यको जिम्मेवारी उनी सुकुम्बासी आयोग कास्कीका अध्यक्ष समेत बनिसकेका छन् । नेपाल रेडक्रस सोसाईटी कास्कीका आजीवन सदस्य पनि हुन् । जिसीले हेल्थ र म्याथ विषयमा शिक्षा संकायमा स्नातक गरेका छन् । जिसी दोस्रो संविधान सभाको निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट सभासद्का उम्मेदवार पनि थिए। स्थानीयस्तरमा पार्टीभित्र लामो समय योगदान दिनेमध्येमा अग्रपंक्तिमा आउने नाममध्ये जिसी पनि समेटिन्छन् । सादा जिवन उच्च विचार बोकेका जिसी पार्टीको वफादार कार्यकर्ताका रुपमा एमालेजनले चिन्छन् । स्वच्छ छविका जिसीले आफूमा अहिले होस र जोश दुवै रहेकाले पाँच वर्षमा प्रतिबद्धता गरेका कामहरु जसरी पूरा गर्ने दृढ अठोट लिएका छन् । ‘मेरो अर्जुनदृष्टि, पोखरा लेखनाथको समृद्धि’ मूल मन्त्र बोकेर चुनावी अभियानमा छन् ।
……………………………………………………………
यो मुलुककै ठूलो महानगरपालिका हो । नामले मात्र महानगरपालिकाबासी भएर हुँदैन । जनतालाई अनुभूति हुने गरी महानगरको सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने हुन्छ । महानगरको पूर्वाधार विकास सोहि अनुसार हुनुपर्छ । सिंहदरवारबाट गाउँ÷नगरमा आएको अधिकारलाई जनताले महसुस गर्ने गरी कार्यान्वयन गर्नु अहिलेको चुनौती हो । यसलाई मैले राम्ररी हृदयंगम गरेको छु । जनत मैत्री स्थानीय सरकारबाट मात्र महानगरको समृद्धि सम्भव छ । जनतालाई परेको समस्या तत्काल सम्बोधन भएमात्र घरआँगनमै सरकार आएको अनुभव महानगरबासीलाई हुन्छ । काम नहुने नाममात्रको महानगर हुन नदिने बाचा गर्दछु ।
पोखरालाई पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जनको प्रमुख केन्द्रको रुपमा विकास गर्नुका साथै ई–गभर्नेस सेवासहितको सूचना प्रविधिमा आधारित स्मार्ट शहर बन आवश्यक छ । छ महिनामा आम महानगरबासीको सुुझावलाई समेट्दै पोखराको विकासको लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर विज्ञको सल्लाहबमोजिम अघि बढ्नेछु ।
पाँच वर्षमा मेरा पाँच प्राथमिकता निम्नानुसार रहनेछन् । १) प्रविधि र सेवाग्रहि मैत्रि महानगरपालिकाः मेरो प्रथम काम सेवा प्राधिकरण निमार्ण गरी यो प्राधिकरण मार्फत ‘स्मार्ट कार्ड’ वितरण हुनेछ। यो नै उनीहरूको डाटाबेसमा आधारित महानगरीय परिचय पत्र हुनेछ । यो कार्डको प्रयोगले बिद्युत महसुल, खानेपानी, मालपोत कर लगायतका सरकारी कर घरैबाट तिर्न सक्नेछन् । सबैको सहयोगमा एक वर्षभित्र काम अघि बढिसक्नेछ । पाँच वर्षमा ग्रेटर स्मार्ट सिटी बन्नेछ ।
२) उद्यमशील शहरः युवाहरुलाई उधमशिलता तर्फ प्रोतसाहन गरी पोखरा लेखनाथलाई पर्यटन, रिसाईकल उद्योग र महोरञ्जन ऊद्योग को केन्द्र बनाउनेछु। ३) वातावरण मैत्रि शहरः घरबाट निस्कने फोहरलाई श्रोतबाटै व्यवस्थापन गर्ने कार्यक्रम ल्याउनेछु। वडा वडामा पार्क बनाई हरित सहर (ग्रिनसिटी) निर्माण गर्नेछु। नविकरणीय उर्जालाई प्रोत्साहन गरिनेछ । ४) स्वच्छ पानी स्वस्थ समाजः धाराबाटै सिधै पिउन मिल्ने पानीको व्यवस्था यथासक्य चाँडो हुनेछ । वडास्तरिय स्वास्थ्य कार्यक्रमलाई जोड दिई स्वस्थ समाज निर्माण गर्नेछु। र ५) दिगो मोडलको बिकासः सडकमा गाडी, साईकल, अपाङ्गता भएका व्यक्ति, बटुवाको छुट्टै लेन निर्माण गरी बाटोमा सबैलाई समान अधिकारको स्थापना गर्ने छु। शहर वरिपरी ‘ईलेक्ट्रिक ट्रली’ बस चलाएर सफा ईन्धनमा जोड दिने छु। शहरमा निर्माण हुने घरहरु पनि ग्रीन होम्स मोडलमा निर्माण गर्न अनुदानको व्यवस्था गर्नेछु।
अन्तर्राष्ट्रिय विमानस्थल, क्षेत्रीय बसपार्कसँगै सिटी बसपार्क, तालतलैया तथा सेती नदि, फुस्रे खेला लगायतमा अतिक्रिमित भएका जग्गा फिर्ता, साहसिक खेलकूदका साथै पूर्वाधारसम्पन्न आधुनिक रंगशाला निर्माण, सम्मेलन केन्द्र, ट्राफिक तथा पार्किङ व्यवस्थापन लगायतका नगरबासीले अहिले भोगेका समस्या समाधान नगरबासीकै सहकार्यमा तत्काल सुरु हुनेछन् । नयाँ परिवेशमा नयाँ महानगरपालिका बनेको छ । शहरदेखि गाउँ यसले ओगटेको छ । यही अनुसार विकासको मोडल आवश्यक छ । जुन गाउँ जुन चिजले पूर्ण छ, त्यहाँका सम्भावना र चुनौतीको पहिचान गर्न जरुरी छ। म त्यसमा सचेत छु र योजनागतरुपमै प्रस्तुत हुनेछु। पोखरा, लेखनाथ र साविकका गाविसहरुलाई एउटै महानगरमा बसेको सामूहिक अपनत्व जगाउँदै विकास निर्माणमा जनसहभागिता गराउँदै अघि बढे विकास हुन समय लाग्दैन । पक्की सडक सञ्जालले जोड्दै अन्य विकासका प्राथमिकतालाई सबै ठाउँमा पु¥याउनु पर्नेछ। पोखरा टुरिजम हब पनि भएकाले एकदुई दिन बस्ने पर्यटकलाई कसरी धेरैभन्दा धेरै दिन कसरी राख्न सकिन्छ भन्ने प्लानिङ गरेर जान जरुरी छ । पोखरा उपत्यका वरिपरि रहेका डाँडाहरूमा सुविधायुक्त पदयात्रा मार्ग निर्माण गरी ग्रामीण पर्यटन गतिविधि बढाउन जोड दिइनुका साथै गाउँहरुमा होमस्टे, भ्यू टावर, आफ्नै शैलीमा विदेशी तान्न सक्ने पूर्वाधार निर्माण मुख्य आवश्यकता हो । त्यहाँ रहेका विभिन्न कोटहरूमा सम्भाव्यता अध्ययन गरी रोपवे तथा केबलकार सञ्चालनमा जोड दिइनेछ । एकीकृत बस्ती विकास कार्यक्रमद्वारा सुकुम्बासी र अव्यवस्थित बस्तीहरूलाई आवश्यक सुविधासहित एक परिवार, एक घर कार्यक्रम कार्यान्वयन गरिनेछ ।
अव्यवस्थित पार्किङ, अव्यवस्थित बाटोहरु छन् । भित्री र बाहिरी रिङ रोड र लिंक रोडको आवश्यकता छ। फेवाताल, बेगनास ताल लगायत ९ तालको लिंकेज रोडहरु बनाउन जरुरी छ। महानगरका सबै वडाका साथै सीमावर्ती गाउँहरूलाई समेत जोड्ने गरी ५ वटा चक्रपथको सम्भाव्यता अध्ययन गरी राजमार्गहरूसँगको कनेक्टिभिटीमा जोड दिनुका साथै सडकको स्तरीकरण गरी सडक सञ्जाललाई जी.पी.एस. सिस्टममा राखिनेछ ।
केरुङ, काठमाडौँ हँुदै पोखराबाट लुम्बिनीसम्म रेलमार्ग सञ्चालन र कोरला – भैँसालोटन नाका हँुदै अन्तराष्ट्रिय व्यापार प्रवद्र्धन गर्न प्रादेशिक सरकार एवं संघीय सरकारसँग सहकार्य गरिनेछ । महानगरको आयस्रोतमा वृद्धि र रोजगार प्रवद्र्धन गरिनेछ । सबै ताल एवं जलाधार क्षेत्रहरूको एकीकृत विकासका लागि अल्पकालीन तथा दीर्घकालीन चरणबद्ध योजनाहरू सञ्चालन गरिनेछ । महानगरका युवाहरूलाई प्राविधिक तथा व्यवसायिक तालिम दिई स्वरोजगारको अवसर सिर्जना गरी तालिमको प्रमाणपत्रका आधारमा बिनाधितो ऋण उपलब्ध गराउने व्यवस्था मिलाइनेछ । समाजमा व्याप्त सबै प्रकारका विभेद, शोषण र उत्पीडनको अन्त्य गरी नागरिकलाई क्षमताअनुसारको रोजगारी उपलब्ध गराउँदै बेरोजगारलाई भत्ता उपलब्ध गराई समृद्ध, समुन्नत र नेपाली विशेषताको समाजवाद ‘एक घर एक सिप रोजगारीको आधार ः समृद्ध पोखरा समाजवादको पूर्वाधार’ कार्यान्वयन गरिनेछ ।
आगामी ५ वर्ष्भित्र पोखरा लेखनाथलाई देशकै उत्कृष्ट शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि र वातवरण मैत्री महानगरपालिकामा रूपान्तरण गरिनेछ । आगामी २५ वर्षभित्र पोखरालाई अन्तर्राष्ट्रिय स्तरको महानगर बनाईनेछ । महानगर सेवा आयोग गठन गरिनेछ । महानगरबाट लिइने कर, राजस्व, शुल्क आदि व्यवस्थित र नियमित गरी महानगरको विकासमा लगानी गरिनेछ । हाम्रो महानगर हाम्रो कर, समृद्ध बनाउने हाम्रै रहर भन्ने नारालाई साकार पार्न नियमित कर तिर्ने करदातालाई सम्मान गरिनेछ ।
महानगरलाई स्मार्ट सिटीका रूपमा विकसित गर्ने लक्ष्यका साथ यस वरपरका अन्नपूर्ण, माछापुच्छ«े, मादी र रूपा गाउँपालिकाहरूका साथै छिमेकी नगरहरूलाई स्याटालाइट सहरका रूपमा विकास गर्न आवश्यक समन्वय गरी सुगम यातायातको व्यवस्थासहितको एकीकृत सामूहिक आवास व्यवस्थामार्फत सुकुम्बासी एवं अव्यवस्थित बस्तीहरूको व्यवस्थापन गरिनेछ । निश्चित क्षेत्रमा फ्रि वाईफाई जोन बनाईनेछ ।
पोखरालाई प्रदेशको राजधानी मात्र नभई, कोरलादेखि त्रिवेणीसम्मको स्थलमार्ग र केरुङ, काठमाडौँ, पोखरा हँुदै लुम्बिनीसम्मको रेलमार्गमा जोडेर नेपालकै प्रमुख व्यापारिक केन्द्र र पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्नुका साथै आवश्यकताअनुसार बस बिसौनी, प्रतीक्षालय, सवारी पार्किङ, जेब्रा क्रसिङ, पैदल मार्ग, साइकल लेन, फ्लाइओभर, टनेल, ओभरहेड ब्रिजसहित वैज्ञानिक ढंगले ट्राफिक व्यवस्थापन गरी मेट्रो सेवाको सञ्चालन गरिनेछ ।
महानगर, सहकारी र निजी क्षेत्रको सहभागितामा तिन खम्बे अर्थ नीतिमा आधारित आत्मनिर्भर र समृद्ध अर्थतन्त्रको निर्माण र विकास गर्दै महानगरको विकास र समृद्धिका लागि वैदेशिक तथा बहुराष्ट्रिय लगानीकर्तालाई आकर्षित गरी अन्तर्राष्ट्रिय सहरहरूसँगको भगिनी सम्बन्धलाई निरन्तरता प्रदान गर्दै महानगरको अन्तराष्ट्रिय सम्बन्धलाई मजबुत बनाईनेछ ।
महानगरवासीलाई महानगरमै बसेको अनुभूति दिन जरुरी छ। स्थानीय सरकारले जनताका आधारभूत आवश्यकतालाई पूरा गर्दै पोखरालाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर महानगरबासीसँगै रहेर पाँच वर्षसम्म म अनवरत रुपले लागिरहनेछु ।
प्रस्तुतिः रञ्जन अधिकारी
