
रञ्जन अधिकारी पोखरा, १६ जेठ / यहाँको अर्को पर्यटकीय गन्तव्य बेगनासताल संरक्षणतर्फ जोड दिईएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३१ का नवनिर्वाचित जनप्रतिनिधिले वडा अन्तर्गतका सम्पूर्ण पर्यटकीय गन्तव्यस्थलको संरक्षणमा लागि पर्ने जनाएका छन् ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट वडामा निर्वाचित उनीहरुले मंगलबार पदभार ग्रहण गरेपछि बेगनासताल संरक्षणसागै महत्वपूर्ण निर्णय गरेका छन् । बेगनासताल संरक्षणका लागि तयार गरिएको बेगनासताल संरक्षण कार्यविधि २०७३ स्वीकृत गर्न अविलम्ब महानगरपालिका कार्यालयलाई अनुरोध गर्ने निर्णय पहिलो बैठकबाट भएको छ ।
यस्तै, सेवाग्राहीको सहजताका लागि वडा कार्यालयलाई अपांगमैत्री, ज्येष्ठनागरिक, बालबालिका तथा महिलाहरुलाई सरल सेवा प्रवाहका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने अर्को निर्णय भएको छ । कार्यालयबाट हुने सबै प्रकारका सेवा सुविधा छिटो छरितो गर्न कर्मचारीलाई निर्देशनका साथै यसको लागि आवश्यक व्यवस्थापन गरिने निर्णय पनि गरेका छन् । साथै, निर्वाचन सफलातापूर्वक सम्पन्न गराएकोमा सरोकारवाला पक्षका साथै आम वडाबासी मतदातालाई धन्यवाद पनि प्रकट गरिएको छ ।
वैशाख ३१ गतेको निर्वाचनबाट पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३१ मा नेकपा एमालेका तर्फबाट चुनावी मैदानमा उत्रिएका कमलबहादुर थापा अध्यक्षमा निर्वाचित भएका थिए । यस्तै, महिला सदस्यमा सावित्री भण्डारी, दलित महिला सदस्यमा विष्णु सुनार, खुल्ला सदस्यमा विष्णुबहादुर भुजेल र पूर्णाखर पाण्डे निर्वाचित भएका थिए ।
अध्यक्ष थापाले पदस्थापनापछि पदभार ग्रहण गर्दै समग्र वडाको विकासका लागि वडाबासीले अमुल्य मत दिएर विजयी गराएको भन्दै काम गर्न पठाएकाले आफूले सबै वडाबासीकै सहयोगमा कार्यसम्पादन गर्न बताए । उनले कोहि कसैप्रति कुनै राजनीतिक पूर्वाग्रह नलिइकन विना भेदभाव वडाको समृद्धिमा लाग्ने उल्लेख गर्दै वडाको विकासको लागि सबै हातेमालो गरेर अघि बढ्ने बताए । थापाले आफु वडा नं. ३१ का जनताको दुःखसुखमा सधैं साथमा रहने बताउँदै कुनै गुनासोको गुञ्जायस नहुने गरी जनतालाई छिटो छरितो सेवा प्रवाह गर्ने प्रतिबद्धता पनि जनाए ।
मंगलबार भएको पदस्थापना कार्यक्रममा जनप्रतिनिधीहरुलाई नगरपालिकाका कानुनी सल्लाहकार राममणि अधिकारी, वडा सचिव रेशमलाल सापकोटा लगायतले कार्यलयमा स्वागत गरेका थिए । निर्वाचित जनप्रतिनिधिको पदास्थपन समारोहमा विभिन्न दलका प्रतिनिधि, स्थानीय, शुभेच्छुकको सहभागिता रहेको थियो ।
