शनिबार पोखरामा अमेरिका–नेपाल साँस्कृतिक मेला हुने

Share:

रेम बिक
पोखरा, १९ जेठ । अमेरिका र नेपालबीचको कुटनीतिक सम्बन्ध स्थापना भएकाो ७० औँ वर्षगाँठको अवसर पारेर अमेरिकी दुतावासको आयोजनामा पोखरामा विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । पोखरा प्रदर्शनी केन्द्रमा हुने साँस्कृतिक कार्यक्रममा नेपाल र अमेरिकाका चर्चित कलाकारहरुले प्रस्तुती राख्नेछन् । एनसेलसँगको सहकार्यमा यो साँस्कृतिक कार्यक्रम हुन लागेको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

मेलामा हुने साँगीतिक कार्यक्रममा अमेरिकी ग्रयामी पुरस्कारका लागि मनोनित गायक कोकायी तथा हिपहम गायक जुनियस ब्रिकहाउससँगै नेपाली कलाकारहरु इन्दिरा जोशी, सबिन राई, फाराओज ब्याण्डको प्रस्तुती रहने आयोजकले बताएको छ । मेलामा विभिन्न जानकारीमुलक स्टलहरु समेत रहनेछन् । ती स्टलहरुबाट सहभागीहरुले लोकतन्त्र, निर्वाचन, युवा अभियान तथा उद्यमशिलता लगाएतका विषयमा जानकारी लिन सक्ने दुतावासले जनाएको छ ।

कन्सर्टसँगै मेलामा बे्रकडान्स, भित्तेचित्र, फेसपेन्टिङ र बाल उद्यान रहने दुतावासले जनाएको छ । काठमाण्डौपछि पोखरामा यो मेला हुन लागेको हो । पोखराको प्रदर्शनी केन्द्रमा हुने यो मेलालाई दर्शकले रुचाउनेमा आफुहरु ढुक्क रहेको दुतावासका कर्मचारीले भने ।

मेलामा एनसेलको पनि विशेष स्टल रहनेछ । केहि समयमै पोखरामा संचालनमा आउन लागेको फोर जी सेवाको जानकारीसँगै स्टलबाट निशुल्क रुपमा सिम वितरण समेत गरिने एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले जानकारी दिए । ‘संगीतसँग एनसेल सँधै नजिक छ । र, संगीतसँग जोडिएका इभेन्टमा हामी सहकार्य गर्न सँधै तत्पर रहने गर्छौँ ।’ उनले भने–‘आफ्ना ग्राहकलाई संगीत र मनोरञ्जनात्मक कार्यक्रम पस्कन हामी आगामी दिनमा पनि यस्तै खालका सहकार्य गरिरहने नै छौँ ।’

शनिबार पोखरामा हुने मेलामा एनसेलले संगीतसम्बन्धि एप्लिकेशन समेत लञ्च गर्ने जनाएको छ ।

पोखरापछि यो कार्यक्रम ईटहरी र धनगढीमा समेत हुने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

कमेन्ट गर्नुहोस्
Share: