साउन १ गतेदेखि पोखरामा हर्न बजाउन नपाइने

Share:

पोखरा १५ असार । साउन १ गतेदेखि पोखरा लेखनाथ महानगरपालिका भित्र हर्न बजाउन नपाइने भएको छ । महानगरको ट्राफिक ब्यवस्थापन सम्बन्धमा विहिवार बसेको सर्बपक्षीय बैंठकले साउन १ गतेदेखि महानगरक्षेत्र भित्र नो हर्न नीति लागू गर्ने निर्णय गरेको हो ।

यसअघि बैंशाख १ गतेदेखि काठमाडौं उपत्यका भित्र हर्न वजाउन नपाइने नियम लागू भएको थियो । त्यसको तीन महिनापछि पोखरा लेखनाथ महानगरमा पनि आकस्मिक बाहेक अन्य अबस्थामा हर्न बजाउन नपाउने नियम लागु गर्न लागिएको हो । महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले आगामी साउन १ गतेदेखि पोखरा लेखनाथ महानगरलाई हर्न बजाउन नपाइने महानगरको रुपमा विकास गर्ने निर्णय भएको जानकारी दिए ।

त्यसका लागि असार महिनाभर प्रचार प्रसार गरिनेछ । महानगरको विभिन्न क्षेत्र तथा विभिन्न सञ्चार माध्यम मार्फत हर्न बजाउन नपाइने बारे जनचेतनामुलक सुचना प्रबाह गर्ने र साउन १ गतेदेखि नियम लागु हुनेछ । यो नियम एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकललगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारीका हकमा लागू हुनेछैन ।

गम्भिर दुर्घटना हुने गरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ । यस्ता जोखिमयुक्त मोडहरुमा पनि प्रेसर हर्न बजाउन पाइने छैन ।

अनावश्यक रुपमा हर्न बजाए ट्राफिक प्रहरी र यातायात ब्यवस्था विभागले ५ सय रुपैयाँसम्म जरिवाना गर्नेछ । यस्ता कारवाहीको रेकर्ड पनि राखिने छ । दोस्रोपटक पनि हर्न बजाएको कारवाहीमा परे १ हजार रुपैयाँ र तेस्रोपटक कारवाहीमा पर्दा १५ सय रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सुचना अधिकृत एबं प्रहरी नायब निरिक्षक शिब थापाले नो हर्नको नियम लागु भएपछि हर्न बजाएको भेटिएमा कारवाही गरिने बताए ।

साथै विहिवारको बैंठकले सडकको पार्किङ हटाउनका लागि महानगरले विस्तृत खाका साउन महिनाभित्र तयार गर्ने समेत निर्णय गरेको छ । महानगरले पार्किङ ब्यवस्थापनको लागि बैंकल्पिक स्थान खोज्ने र सोहि अनुसार व्यवस्थापन गरिने समेत निर्णय भएको छ ।

त्यस्तै सार्वजनिक महत्वका सुचना वाहेक अन्य माइकिङमा कडाई गरिने भएको छ । स्कुल बसले पनि निश्चित स्थानमा बिद्यार्थी चढाउने र झार्ने ब्यवस्था मिलाउने तथा राजमार्ग क्षेत्रको राइट आफ वे क्लियर गर्ने समेत निर्णय गरिएको छ ।

  • peacepokhara.com
कमेन्ट गर्नुहोस्
Share: