
रञ्जन अधिकारी पोखरा, २९ साउन। ‘युवा एकता, देश विकासमा अग्रता’ मूल मन्त्रका साथ फेसबुकमा युवाहरुले खोलेको युनाईटेड युथ फर नेशन (यूवाईएन) ले विद्यालयमा सहयोग प्रदान गरेको छ । विद्यालयमा विद्यार्थीलाई शिक्षाप्रति उत्प्रेरणा जगाउने उद्देश्यले स्टेशनरी सामाग्री वितरण गरेको समूहले जनाएको छ ।
पोखराका यी समूहले पोखरा लेखनाथ महानगरपालिका ३२, तल्लो गगनगौंडा स्थित श्री हिमालय आधारभूत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो । यो समूहले केहि साताअघि पोखरामा पानीपुरी बेचेरै ३० हजार रकम संकलन गरेको थियो । यसमा सहयोग जुटाएर उनीहरुले विद्यालयलाई सहयोग गरेका हुन् ।
विद्यालयमा अध्ययनरत करीब एक सय विद्यार्थीहरुलाई स्टेशनरी सामाग्रीहरु कापी, कलम जुत्ताका साथै विद्यालयलाई ह्वाईटबोर्ड र खेलकुदका सामाग्री वितरण गरिएको समूहका सदस्य शिशिर देवकोटाले जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक राकेश पौडेलले भर्खरका युवाहरुले यसरी विद्यालयमै आएर विद्यार्थीका लागि आवश्यकीय सामाग्री प्रदान गरेकोमा खुशी व्यक्त गरे । सो विद्यालयमा प्रायः निम्न आय भएकाका छोराछोरी पढ्दै आएका छन् । समूहका सदस्य जय ओझाले विपन्न बालबालिकाहरुलाई विद्यालय पढ्न सहयोग पुगोस् भन्ने हेतुले फुर्सदको समय सदुपयोग गर्दै सबै साथीहरु एक भएर पानीपुरी बेच्ने कार्यक्रम आयोजना गरेको र बचेको रकम यसरी सहयोग गरेको बताए । आर्थिक सहयोग गर्ने सबैलाई उनले धन्यवाद पनि दिए ।

समूहले पोखरा लेखनाथ महानगरपालिका १६ जुम्लेटी स्थित श्री शान्ति माध्यमिक विद्यालयका विपन्न विद्यार्थीलाई पनि सहयोग प्रदान गर्ने योजना बनाएको जानकारी दिएको छ ।


