
रञ्जन अधिकारी पोखरा, २ भदौ / पोखरा लेखनाथ महानगरपालिका क्षेत्रका सडक व्यवस्थित र सुरक्षित बनाउन महानगरपालिका निर्मम ढंगले लाग्ने महानगर प्रमुख मानबहादुर जिसीले बताएका छन् । बसपार्क निर्माणदेखि पार्किङ तथा ट्राफिक व्यवस्थापन, छाडा चौपाया नियन्त्रण, सवारी व्यवस्थापनमा सबै पक्षको सहयोगको उनले अपेक्षा गरे ।
पोखरा बस व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभाका प्रमुख अतिथि जिसीले सबैको चासो बसपार्क लगायतका सम्बन्धमा अबको ६ महिनाभित्र प्रोफाईल तयार भईसक्ने जानकारी दिए । बसपार्क बनाउन अधिग्रहण भएको जग्गामा सुकुम्बासी समस्या समाधान गर्नुपर्ने तर यसमा बलजफ्ती गर्ने पक्षमा आफू नभएको उनले बताए । ‘पृथ्वीचोक जस्तो क्षेत्रमा सयौं रोपनी शरणार्थीले कब्जा गरेर बसेका छन् । ३५ सटर भाडामा लगाएर पैसा कमाएका छन् ।’ पृथ्वीचोक सभागृहचोक क्षेत्रको शरणार्थी क्याम्पतर्फ इंगित गर्दै उनले भने– ‘अनि हाम्रै नेपालीलाई सुकुम्बासी भन्दैमा उनीहरुको उचित व्यवस्थापन नगरी कसरी उठाउने ? सुकुम्बासीको नाममा हुकुम्बासी पनि होलान्े, यसतर्फ पनि अध्ययन गरेर उचित व्यवस्थापनसँगै बसपार्क बन्छ ।’ जिसी सुकुम्बासी समस्या समाधान आयोग कास्कीका अध्यक्ष समेत भएका थिए ।
उनले यातायात व्यवसायीले जुन प्रयोजन र जुन रुटका लागि इजाजत लिएको हो त्यही अनुसार सवारी चलाउन पनि आग्रह गरे । ‘दमौली पोखराको बस अमरसिंह नै रोकिए हुन्छ चिप्लेढुंगा आउन किन प¥यो ? पृथ्वीराजमार्गका बस राजमार्गमै हो चल्ने अन्त किन जानुप¥यो ।’ ताली बज्न सुरु भएपछि जिसिले पोखरा बस व्यवसायीलाई नै भने– ‘तपाईंहरु पनि नगरका बसहरु गाउँ गाउँमा किन जानु प¥यो ? गाउँका लागि अर्कोले सेवा दिन्छ ।’ उनले पोखराका सडक सुरक्षित बनाउन महानगर निर्मम ढंगबाट अघि बढ्न बाध्य हुने भन्दै सचेत तुल्याए ।
ज्येष्ठ नागरिक, अपांग तथा असहायका लागि राज्यले तोकेबमोजिम छुट दिन कुन कञ्जुस्याईं नगर्न आग्रह गर्दै उनले हुनेसँग लिने र नहुनेलाई सेवा दिने किसिमले अघि बढ्न सुझाव दिए । गाडी छ, ड्राईभर छैन किनकि लाईसेन्स छैन भन्ने नारा नै सुन्न थालिएको भन्दै उनले अब लाईसेन्समा कोटा तोक्ने कुरा मान्य नहुने र यसलाई सरलीकृत गर्दै दक्ष प्रमाणित हुनेले सहजै लाईसेन्स पाउने अवस्था सिर्जना गर्न आफू लागिपर्ने बताए ।
सहकारीको सहकार्यमा छाडाचौपाया नियन्त्रण सुरु भएको र अहिले पोखरामा धेरै घटिसकेको उल्लेख गर्दै जिसीले अब पशुधनीले गाई, भैंसी सडकमा छाडेमा वडाले नै कारबाही गर्न अख्तियारी दिने बताए । पार्किङ समस्याको मुख्य कारण नै पार्किङ स्थलको अभाव भएकाले यसतर्फ अध्ययन भईरहेको उनले जनाए । सन्ध्याकालिन बसको सुरक्षाका लागि महानगर प्रतिबद्ध रहेको जिसीले सुनाए ।
पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठले पोखराको विकासमा राजनीति नगर्न चेतावनी दिए । पोखराको विकासमा राजनीति गर्ने काम मात्र भएको उल्लेख गर्दै उनले पोखरा स्मार्ट सिटी बनाउन नसकिने बताए । स्थानीय निर्वाचन अघि पोखरालाई स्मार्ट सिटी बनाउने नारा अघि सारेको नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा र प्रमुख मानबहादुर जिसीको अगाडि श्रेष्ठले स्मार्ट सिटीका बारेमा अधिकांश समय तीतो पोखे । ‘विश्वका विकसित मुलुकका शहरहरु पनि स्मार्ट सिटी बन्न सकेका छैनन् । हामीले सोच्ने बेला भएको छैन । भविष्यमा सोचौंला ।’ उनले भने– ‘स्मार्ट सिटी भनेको के हो थाहा छ ? पहिले स्मार्ट सिटी बुझौं ।’
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका क्षेत्रीय संयोजक धर्मराज अधिकारीले यातायात क्षेत्रको समस्या विकराल रहेको उल्लेख गर्दै राज्यलाई १८ प्रतिशत बढि राजश्व बुझाउने, तीन खर्ब बढि निजी लगानी भएको, लाखौंलाई रोजगारी दिएको यातायात क्षेत्रलाई कसैले बुझ्न नसकेको उल्लेख गरे । ट्राफिकको काम राजश्व अशुल गर्ने मात्र नभएको भन्दै उनले सडकको अवस्थालाई मध्येनजर गर्दै कारबाही प्रक्रिया अवलम्वन सुझाव पनि दिए ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी झलकराम अधिकारी, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले सुरक्षित शहर बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । नेपाली काँग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराई, नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, नेकपा माओवादी केन्द्र कास्कीका ईञ्चार्ज राजकाजी गुरुङ करण लगायतले पोखराको सडक व्यवस्थित भएमात्र स्मार्ट सिटीको अवधारणा सार्थक हुने भन्दै सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए ।
सो अवसरमा स्थानीय श्रृंगा यातायातका अध्यक्ष केदार पौडेल, ग्रामिण बाटो समिति तर्फबाट श्रीप्रसाद गुरुङ, नेपाल यातायात मजदुर संघ कास्की अध्यक्ष दामेदार पण्डित, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी अध्यक्ष विष्णु खत्री, अखिल नेपाल यातायात मजदुर संघ कास्की अध्यक्ष गोपाल सिंखडा लगायतले बोलेका थिए ।
समितिका अध्यक्ष देउप्रसाद गुरुङको अध्यक्षतामा भएको साधारणसभामा सचिव अमृत शर्मा तिमिल्सिनाले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष पवित्रमणि अधिकारीले आय व्यवय प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा स्वागत उपाध्यक्ष क्षेत्रबहादुर राना र सञ्चालन सचिव शर्माले गरेका थिए ।
पोखरा बस व्यवसायी समितिले प्रदान गर्दै आएको यातायात पत्रकारिता पुरस्कारबाट यस वर्ष यदुनाथ बञ्जारा सम्मानित भए भने हर्क बहादुर गुरुङ स्मृति सामाजिक सेवा सम्मान नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेललाई अर्पण गरियो ।
पोखरा बस व्यवसायी समितिले सो अवसरमा उत्कृष्ट चालक चन्द्रबहादुर सुब्बा र रामबहादुर मगर, उत्कृष्ट परिचालक तुलबहादुर सारु र अर्जुन जिसी, उत्कृष्ट कर्मचारी सञ्जय अधिकारी, दुर्घटना रहित सम्मानबाट बमबहादुर गुरुङ, एसईईमा उत्कृष्ट अंक ल्याउने व्यवसायी तथा मजदुरका छोराछोरी योलिना लामा लगायतलाई सम्मान गरेको थियो ।
