पोखरा सस्तो बजारमा बम, विप्लव नेकपा भन्छः हामी होईनौं

Share:

रञ्जन अधिकारी पोखरा, २६ असोज / पोखराको पृथ्वीचोक स्थित सस्तो बजारको प्रवेशद्वारमा सोमबार बिहानै बम भेटियो । यसले कुनै मानवीय तथा भौतिक क्षति भने गरेको छैन । फायर स्ट्रेनमा मोटरसाइकलको व्याट्री जडान गरी तामाको तारले बेरेर राखिएको अवस्थामा भेटिएको सो बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ ।

नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको जमिनमा संचालित पोखरा सस्तो बजारको पुरानो संरचना भत्काएर हाल नयाँ व्यवसायिक सटर तथा भवनहरु बनिरहेका छन् । निर्माण भईरहेको एउटा सटर छेउमा एकाबिहानै बम फेला परेको प्रहरीले जानकारी दिएको छ ।

खबर प्राप्त हुनासाथ तत्काल घटनास्थल पुगेको वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । सेनाको टोलीले बम निस्क्रिय पारेको हो ।

बम कसले र किन राखेको भन्ने विषयमा अनुसन्धान भईरको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अशोक सिंहलाई उद्दृत गर्दै क्षेत्रीय प्रहरी कार्यालय, पोखराले जनाएको छ । बम राख्नेको खोजी भइरहेको प्रहरीको भनाई छ । हालसम्म यसको जिम्मेवारी कसैले लिएको छैन ।

पोखरालाई फुटपाथ व्यापार मुक्त बनाएपछि सडक व्यापारीहरुलाई पाँच वर्ष अघि त्यस बजारमा व्यवस्थापन गरिएको थियो । निगमको जग्गा उपभोगको ठेक्का सूर्यदील इन्भेस्टमेन्ट कम्पनी प्रालिले प्राप्त गरेसँगै विवाद सिर्जना भएको थियो । दुई महिना अघि प्रशासनको सहयोगमा व्यापारीलाई हटाएपछि नयाँ ठेक्का प्राप्त कम्पनीले भौतिक संरचना तयार गरिरहेको छ ।

सस्तो बजारबाट हटाउन खोजेपछि तत्कालिन व्यवस्थापन समिति रुष्ट बनेको थियो । बजार खाली गर्न जाँदा सञ्चालक युवराज खतिवडामाथि प्रहार भएको थियो । पहिले टाउकोको चोट व्यहोरेका खतिवडा पछि खुट्टा नै भाँचिने गरी आक्रमणमा परेका थिए । गम्भिर घाईते खतिवडा अझै बैशाखीकै सहारामा हिँड्ने गर्छन् ।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी, कास्कीले सस्तो बजारमा भेटिएको बमको सन्दर्भमा पार्टीको कुनै संलग्नता नभएको बताएको छ । बजारको विषयमा विप्लब नेतृत्वको नेपाल कम्युनिट पार्टीले पटक पटक विज्ञप्ती समेत जारी गरेको थियो ।

इमेल विज्ञप्तीमार्फत जिल्ला संगठन समिति ईञ्चार्ज रुपेश र सेक्रेटरी जगनले बमलाई आधार बताएर पार्टीलाई आरोप लगाउने, फसाउने गरी कार्यकर्तालाई धम्की दिने, जिल्ला पार्टी कार्यालयमा घेराबन्दी गर्ने, खानतलासी गर्ने कार्यको भत्र्सना गरेका छन् ।

पार्टी जिल्ला सदस्य गोविन्द ओली र राष्ट्रिय जनस्वयंमसेवक कास्कीका सचिव लोकेन्द्र राईलाई रिहा गर्न पनि माग गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: