नवौं मिस पोखराको तयारी अन्तिम चरणमा

Share:

रञ्जन अधिकारी पोखरा, २ असोज / मिस पोखराको नवौं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक जेसिआई पोखराले सोमबार पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी गराएको हो ।

मेट्स ईन्टरनेशनलको मुख्य प्रायोजनमा हुने मिस पोखराको ग्राण्ड फिनाले यही असोज ५ गते पोखरा सभागृहमा हुँदैछ । कार्यक्रम मूल संयोजक एवं कार्यकारिणी उपाध्यक्ष शिवप्रसाद सापकोटाका अनुसार उपाधिका लागि पाँच जिल्लाका १६ जना अन्तिम प्रतिष्पर्धामा उत्रनेछन् ।

सन् १९९५ बाट मिस पोखरा शुरु गरेको पोखरा जेसिजको नवौं संस्करणको विजेताले छनौट प्रक्रिया बिना नै स्वतः मिस नेपालमा प्रतिष्पर्धाका लागि स्थान सुरक्षित गर्ने आयोजकले जानकारी दिएको छ । १९९५ मा शुरु भएपनि १९९९ पछि हुन नसकेको प्रतियोगिता २०१३ देखी पुनः शुरु गरिएको थियो ।

प्रतियोगिताको उपाधि बिजेताले नगद ५० हजारसहित यामाहा फेसिनो स्कुटर प्राप्त गर्नेछिन् । प्रतियोगिताको फस्र्ट रनरअपले ३० हजार र सेकेण्ड रनरअपले २० हजारसहित क्राउन, यसैगरी मिस पर्सनालिटी, मिस ट्यालेन्ट, मिस बेष्ट स्माइल, मिस क्याटवाक, मिस बेष्ट डे«स, मिस फोटोजेनिक, मिस भ्यूअर च्वाईस र मिस पपुलर टाइटल पनि रहेको र उनीहरुलाई नगदसहित गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न २३ लाख खर्च लाग्ने अनुमान गरिएको क्लवका अध्यक्ष शिवप्रसाद कोईरालाले बताए । उति नै रकम प्रायोजक, सहयोगीहरुसँग संकलन गरिएको आयोजकले जनाएको छ ।

युवा नारीहरुको क्षमता अभिवृद्धि तथा प्रतिभा प्रस्फुटनको लागि विशेष अवसर प्रदान गर्ने हेतुले आयोजना हुँदै आएको मिस पोखराका प्रतिष्पर्धीहरुको आत्मविश्वास उजागर भई सामाजिक क्रियाकलापमा संलग्न रही सामाजिक रुपान्तरणका लागि अग्रसर हुने विश्वास लिईएको अध्यक्ष कोईरालाले बताए ।

पत्रकार सम्मेलनमा यस कार्यक्रमकी कोरियोग्राफर तथा सन् २००० कि मिस नेपाल उषा खड्गीले यो सौन्दर्य प्रतियोगिताको सकारात्मक पाटोबारे जानकारी गराई यस्ता ब्युटि पेजेन्टहरुलाई सुधार गर्न आवश्यकता रहेको बताईन् । निवर्तमान अध्यक्ष गोविन्द देवकोटाले पोखरा जेसीजले २२ वर्ष अघि सुरु गरेको यो प्रतियोगिता पछिल्लो समयमा च्याउ सरी ईभेन्टका नाममा आयोजना हुने र गरिमा घट्दै गएको कारण पोखरा जेसीजले यस कार्यक्रमको औचित्य पुष्टी गर्न पनि पुनः निरन्तरता दिन बाध्य भएको बताए ।

कमेन्ट गर्नुहोस्
Share: