
पोखरा, ४ असोज/ पोखरालाई देशकै पहिलो स्मार्ट सिटी बनाउन न्यू आइटीभेन्चर कर्पोरेसन र पोखरा लेखनाथ महानगरपालिकाबीच सम्भाब्यता अध्ययन गर्न बुधबार समझदारी पत्रमा हस्तारक्षर भएको छ । सार्वजनिक र व्यक्तिगत साझेदारी (पिपिपि) अवधारणा अन्तर्गत सो समझदारीपत्रमा हस्ताक्षर भएको हो ।समझदारी अनुसार विश्वप्रसिद्ध पर्यटकीय नगरीका रुपमा स्थापित पोखरामा पर्यटन आगमन बढाउन र स्थानीय सुरक्षा प्रत्याभूतिका लागि सूचना तथा संचार प्रविधिको उपयोग गरिने छ ।
त्यसै गरी महानगरपालिका लागि संघीय व्यवस्था अनुसार नयाँ नियम, कानुन बनाउने जस्ता चुनौतिहरु कायमै रहेका सन्दर्भमा प्रशासनिक क्षेत्रमा मात्र स्मार्ट सिटीका आधारस्तम्भ मानिने मेगा आईसिटी परियोजनालाई दृष्टिगत गरी एनआईटिभीले पोखरालाई नेपालको पहिलो स्मार्ट सिटी बनाउने योजना अघि सारेको हो । बुधबार न्यू आइटी भेन्चरका तर्फबाट कार्यकारी संचालक तादासी मोरी र पोखरा लेखनाथ महानगरपालिकाका तर्फबाट कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । हस्ताक्षर समारोहमा न्यू आईटी भेन्चरका सिईओ कमल अधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।
समझदारीपत्रमा पोखरा लेखनाथ महानगरपालिकाका महत्वपूर्ण सरकारी स्वामित्वका सूचना संयन्त्रहरु, सामाजिक सेवा र सूचना केन्द्र, विद्यालय पुस्तकालय र थप शिक्षाा प्रणाली, अस्पताल बिमा र उपचार प्रणाली, यातायात, खानेपानी, फोहर व्यवस्थापन, ऊर्जा र कानुनका विषयमा प्राविधिक सेवा दिने रहेको छ ।
यो समझदारीको मुख्य उद्देश्य पोखरा लेखनाथ महानगरपालिकालाई नेपालको स्मार्ट सिटीको रुपमा विकास गर्नु रहेको छ । यसका लागि महानगरपालिकामा स्मार्ट सिटी हव कार्यालय गठन गरिने छ । यसपछि पोखरामा स्मार्ट आईटी परियोजनाको चाहना र आवश्यकताका साथै त्यसका प्राथमिकताका बारेमा अध्ययन गरिनेछ । समझदारी अनुसार स्मार्ट सिटी परियोजनामा स्थानीय स्वामित्व र नागरिकको सहभागिता ग्यारेन्टी गरी महानगरपालिकासंग भएका खोजहरु र सबै स्रोतहरुको विश्लेषण गरिनेछ ।
त्यस्तै वृहत आईटी परियोजनाका लागि आन्तरिक तथा बाह्य लगानीकर्तामाझ सर्वसाधारण र व्यक्तिगत साझेदारी विकासका लागि उचित वातावरणको निर्माण गरिनेछ ।पोखरा लेखनाथ महानगरपालिकाका प्रमुखको नेतृत्वमा स्मार्ट सिटी हव सचिवालय महानगरपालिकाको एक औपचारिक शाखाको रुपमा रहने र कार्य संचालनका लागि एक अधिकारी नियुक्त गरिनेछ । यो सचिवालयलाई स्मार्ट सिटी हवका लागि सरकारी तह र अन्य लगानीकर्तासंग सूचना आदानप्रदान गर्ने जिम्मेवारी दिइनेछ ।
महानगरका मेयर मानबहादुर जिसीले चुस्त, दुरुस्त र छिटो छरितो सेवा दिन स्मार्ट सिटीको अवधारणा जरुरी रहेको बताए ।
कम्पनीले नेपालमै पहिलोपटक मोबाइलमा लाइभ टेलिभिजन हेर्ने एप नेट टिभी सार्वजनिक गरेको छ भने वल्र्ड अन डिमाण्ड अन्तर्गत विदेशमा बस्ने नेपाली तथा अन्य दशेका नागरिकहरुका लागि नेपाली, हिन्दी, अंग्रेजी लगायतका टेलिभिजन सुविधा दिइरहेको छ ।
