
रञ्जन अधिकारी पोखरा, १६ साउन / ‘एघार वर्षको उमेरमै बिहे गरेर घार्मीबाट बाटुलेचौर झरेकी हुँ । त्यतिबेला यहाँका नेवारहरुले लाखे नाच, गाईजात्रा देखाउँथे, यही मैदानमा तीजे मेला हुन्थ्यो ।’ पोखरा १६ बाटुलेचौरकी ७० वर्षीया हरिदेवी तिमिल्सिना शुक्रबार भन्दै थिईन् ‘ओमकुमार साहु बुढा, उनका छोरा टेकनारानको शेषपछि त लाखेनाच निकाल्ने चलनै हरायो ।’
नेवारहरुको बाहुल्य रहेको काठमाण्डौंमा नेवार समुदायले आफ्नो संस्कृतिलाई थाम्दै आएपनि पोखरामा लोपोन्मुख अवस्थामा पुगेपछि यहाँका नेवार समुदाय आफ्नो संस्कृतिप्रति सचेत बन्दै गएका छन् । चालीस वर्षपछि बाटुलेचौरका नेवार समुदायले लाखे नाच प्रदर्शन गरेको छ । तिमिल्सिना पनि चालीस वर्ष पछि लाखे नाच्ने भएपछि रमाउँदै बाटुलेचौर मैदान आएको बताईन् । ‘उमेर छँदा तीजको जात्रा लाग्दा म नाच्दा सधैं पहिलो हुन्थेँ । मलाई नचिन्ने को होलान् र ?’ तिमिल्सिना थप्छिन् ‘रमाईलो मन पर्छ । अहिले फेरि लाखे नाच निकाल्ने भनेको सुनेर हेर्न आएकी हुँ ।’ वर्षौदेखि जात्रा लाग्दै आएको बाटुलेचौरको मैदान खुम्चँदै गएकोमा उनलाई चिन्ता छ ।
नेवाः खल बाटुलेचौरले नागपञ्चमीको अवसर पारेर शुक्रबार लाखे नाच प्रदर्शन गरेको हो । स्थानीय गणेशमन्दिर देखि बाटुलेचौर मैदानसम्म बाजागाजा सहित लाखे नाच देखाईएको छ । लाखे नाच हेर्न स्थानीय तथा आसपासका क्षेत्रका बालबालिकादेखि बृद्धबृद्धासम्म घुईंचो लागेको थियो । संस्कृतिप्रेमीहरुले बाटुलेचौरमा लामो अन्तरालमा भएपनि लाखेनाच पुनः शुरु भएकोमा खुशी व्यक्त गरे । हिमालय क्लबका अध्यक्ष समेत रहेका नेवाः खल बाटुलेचौरका सदस्य जीवन श्रेष्ठले बाटुलेचौरमा रहेका २४ नेवार परिवार संस्कृति संरक्षणमा जुट्दै प्रत्येक वर्ष यसरी नै लाखेजात्रा, गाईजात्रा लगायतका कार्यक्रम गर्ने बताउँछन् ।
लाखे नाच शुभारम्भ कार्यक्रममा बोल्दै नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले चालीस वर्षपछि बाटुलेचौरका नेवार समुदायले आफ्नो सम्पतिलाई माया गर्दै यसलाई जोगाउन लागेकोमा खुशी व्यक्त गरे । ‘अब यसलाई जोगाउनु आवश्यक छ । आफ्ना संस्कृति पहिचानसँग जोडिने भएकाले नेवारी संस्कृति जोगाए मात्रै नेवारको पहिचान जिवन्त रहन्छ ।’ पालिखेले भने ।
नेवा खलःकास्कीका उपाध्यक्ष तीर्थ श्रेष्ठले संस्कृतिले समाजलाई जोड्ने भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए । लामो समयको अन्तरालमा भएपनि बाटुलेचौरमा लाखेनाच पुनः प्रदर्शन गरेर नेवा खलः बाटुलेचौरले संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्न सकेको भन्दै उनले खुशी जनाए ।
नेवा खलः बाटुलेचौरका अध्यक्ष नन्दलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य जीवनारायण श्रेष्ठ जीवन’ले स्वागत तथा सचिव सुन्दर मानन्धरले कार्यक्रमको सञ्चालन गरेका थिए ।
विभिन्न जिल्लाका नेवार समुदायको बाहुल्यता रहेको स्थानमा विशेषतः नागपञ्चमीदेखि तीजको ऋषि पञ्चमी एवं काठमाण्डौंमा ईन्द्रजात्राको दिनसम्म मनाईने चलन छ । कृष्णलाई मार्न कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुनताको मृत्युको कामना गर्दै राक्षसको स्वरुपमा सजिएर लाखे नाच मनाउने गरिएको संस्कृतिबिद्हरु बताउँछन् । भुतप्रेत नलागोस् र मृत आत्माले दुःख नदेओस् भनेर यो नाच रातमा देखाउने गरेको पनि पाईन्छ । लाखे नाचमा ढोलक, ट्याम्को, सहनाई, मजुरा लगायतका बाद्यवादनको प्रयोग गरिन्छ । आफ्नो संस्कृति संरक्षणमा नयाँ पुस्ताले पनि निरन्तरता दिनुपर्ने जरुरी देखिन्छ ।
