
बिग न्यूज
पोखरा, २५ कात्तिक । कास्की क्षेत्र नम्बर दुई प्रदेश ‘क’मा काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका गुरुप्रसाद बरालले अहिलेको स्थितीमा कार्यकर्ताहरु अत्याधिक खट्नुपर्ने बेला आएको बताएका छन् । उनले लोकतन्त्रलाई पूर्ण संस्थागत गराउनका लागि भएपनि काँग्रेसले जीत निकाल्नैपर्ने दबाब भएका कारण कार्यकर्ता खटेमात्रै त्यो सम्भव भएको उल्लेख गरे ।
वर्तमान अवस्थामा वाम एकताको नाममा कम्युनिष्ट शक्तिहरु एक ठाऊँमा हुँदा लोकतन्त्र मासिने खतार बढेको उनले बताए । ‘गैरलोकतन्त्रबादी शक्तिहरु एक भएर अधिनायकबादलाई लाद्ने प्रपञ्च रच्दैछन् । जुन देशको लागि अत्याधिक खतराको सँकेत हो ।’ उनले भने–‘त्यसैले लोकतन्त्रलाई बचाउने जिम्मा हाम्रो काँधमा आएको छ ।’ लोकतन्त्रबादीहरु एकमत भएर काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न उनले अपील गरे ।
पोखरा लेखनाथ वडा नम्बर १७ मा काँग्रेस वडा सम्पर्क समितिको कार्यालय उद्घाटनको क्रममा बोल्दै उनले जनता सचेत हुने बेला आएको बताए । जनता सचेत नभएको खण्डमा खुला व्यवस्था माथि बन्देज लाग्ने सक्ने खतरा रहेको उनले बताए ।
साथै उनले विद्यार्थी, तरुण र युवाहरुको भावनालाई कदर र अग्रजको सम्मान गर्दै त्यस क्षेत्रको विकासको लागि उम्मेदवारी दिएको बताए । उनले आफु निर्वाचित भएको खण्डमा त्यस क्षेत्रको विकासको लागि गुरुयोजना तयार पारिसकेको समेत जानकारी दिए ।
उनले फेवातालको बाँधलाई अत्याधुनिक बनाउने, फेवातालसँगै जैविक पार्क स्थापना गर्ने, सडकको स्तरोन्नतीसँगै संजाल बढाउने, फोहोरमैला व्यवस्थापन, आधुनिक कृषि प्रणालीको विकास, कृष्टि निर्मलपोखरी, भरतपोखरी जस्ता ग्रामिण ईलाकामा ‘लिफ्ट सिँचाई’को विकास गर्ने जस्ता आफ्ना योजना सुनाए । साथै त्यस क्षेत्रको धार्मिक पर्यटनको प्रबद्र्धनका लागि आफु प्रतिबद्ध रहेको समेत उनले बताए ।
