
बिग न्यूज
पोखरा, २ मंसिर । कानुन मन्त्री तथा कास्की क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य उम्मेदवार यज्ञबहादुर थापाले काँग्रेसले जितेमात्रै देशमा सम्बृद्धिको लहर आउने बताएका छन् । विकास र सम्बृद्धि काँग्रेसको लक्ष्य भएको बताउँदै उनले आसन्न निर्वाचनमा काँग्रेसलाई जिताउन मतदाताहरुसमक्ष आग्रह गरेका छन् ।
चुनावी घरदैलोको क्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३२ मा पुगेका थापाले काँग्रेस मात्रै आफुले गरेको वाचा पुरा गर्ने पार्टी भएको पनि दाबी गरे । ‘नेपाली जनतालाई संविधान दिने उद्घोष काँग्रेसले नै गरेको थियो । र, त्यो नेपाली जनताले पाईसकेका छन् ।’ उनले अगाडि थपे–‘अहिले काँग्रेस सम्बृद्धिको वाचासहित चुनावमा आएको छ र, त्यो वाचा काँग्रेसले पुरा गरिछाड्छ ।’
उनी घरदैलोको क्रममा कास्की क्षेत्र नम्बर १ प्रदेश क का उम्मेदवार जीवन परियार र समानुपातिक उम्मेदवार कोपिला रानाभाटसहित तल्लो गगनगौँडा, सातमुहाने र मालेपाटन पुगेका थिए । उनले त्यस क्षेत्रमा काँग्रेसकै पहलमा विकासको लहर आएको पनि बताए । ‘रुपाताल बाँध परियोजनाका लागि काँग्रेसकै पहलमा ३ अर्ब रुपैयाँ आईसकेको छ । र, यहाँका अन्य पुर्वाधार विकासका लागि पनि काँग्रेसको पहलमा वजेट विनियोजन भैसकेको छ ।’ उनले मतदाताहरुलाई भने–‘त्यसैले यो क्षेत्रको समग्र विकासको लागि अहिले पनि काँग्रेसलाई नै जिताउनुहुनेछ भन्ने विश्वास छ ।’
नेपाली काँग्रेस कास्कीको पहलमा उम्मेदवारहरुले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३२ को तीनवटा स्थानमा सम्पर्क कार्यालयहरु समेत उद्घाटन गरेका थिए । सम्पर्क कार्यालय उद्घाटनको क्रममा प्रदेश सभा क बाट उम्मेदवारी दिएका काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले विपन्न वस्तीहरुमा रहेको पुर्वाधार अभाव हटाउन आफु गम्भिर भएर लाग्ने प्रतिबद्धता जनाए ।
साथै उनले लामेआहालको मजुवावस्तीमा रहेको सुकुम्बासीहरुलाई लालपुर्जा उपलब्ध गराउनका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् । उनले दलित वस्तीमा एक घर, एक धाराको अवधारणामा काम भैरहेको स्पष्ट समेत पारेका छन् ।
साथै सोहि क्रममा लामेआहालमा भएको चुनावी कार्यक्रममा त्यस क्षेत्रका १ सय जनाभन्दा बढी व्यक्तिहरु एकै पटक काँग्रेस प्रवेश गरेका थिए । काँग्रेसका उम्मेदवारहरुले अबिर लगाएर उनीहरलाई पार्टीमा स्वागत गरेका थिए ।
