
बिग न्यूज
पोखरा, ८ मंसिर । कास्की क्षेत्र नम्बर २ प्रदेश ‘क’मा काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका गुरुप्रसाद बरालले काँग्रेसले जितेको खण्डमा लोकतन्त्रले पनि जित्ने दाबी गरेका छन् ।
घरदैलो कार्यक्रमअन्तरगत शुक्रबार पोखरा १५ टुटुंगामा सम्बोधन गर्दै उनले भने–‘अहिले लोकतन्त्रलाई बचाउने बेला हो । यदि काँग्रेसले हा¥यो भने लोकतन्त्रले हार्छ, विकासले हार्छ र स्वतन्त्रताले हार्छ ।’ नेपाली जनताले लामो सँघर्षपश्चात पाएको लोकतन्त्रको रक्षाको लागि भएपनि काँग्रेसलाई भोट हाल्नैपर्ने स्थिती आएको उनले बताए ।
काँग्रेसले हिजोको दिनदेखि नै जनतासँग गरेका वाचा पुरा गर्दै आएको बताउँदै उनले अब फेरि सम्बृद्धिको वाचा पनि काँग्रेसले पुरा गर्ने बताए । ‘काँग्रेस ईतिहासदेखि अहिलेसम्म जनताको सबैभन्दा विश्वासिलो पार्टी हो ।’ उनले भने–‘र, जनताको यो विश्वास काँग्रेसले कहिल्यै टुट्न दिनेछैन ।’ उनले सम्बृद्धि र विकासको नारा लिएर हिँडेको काँग्रेसलाई जिताएर जनताले न्याय दिनुपर्नेमा जोड दिए ।
