
पोखरा, साउन १९ -कास्कीको लेखनाथ नगरपालिकामा दुई यूवाबीच विवाद भई ढुंगा हानाहान हुँदा अर्कै व्यक्तिको ज्यान गएको छ ।
काभ्रेको बनेपा घर भई पोखरा ५ मालेपाटन बस्दै आएका कर्णबहादुर लामाले प्रहार गरेको ढुंगाले लागेर लेखनाथ ५ बडीघाटका १४ वर्षका सुरेश चेपाङको ज्यान गएको हो । लामा र उदयपुर घर भई लेखनाथ ५ गडीघाटमा बस्ने विश्व कुमार मगरबिच आपसी विवादका क्रममा हानेको ढुंगाले लागेर नजिकै बसिरहेका चेपाङको ज्यान गएको प्रहरीले जनाएको छ ।
चेपाङको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक केदार रजौरेले जानकारी दिनुभयो ।
चेपाङ्गका बुबा आनन्दले सोही ठाउँमा बालुवा निकाल्ने काम गर्दै आउनुभएको थियो । काममा बाबुसँग गएका बेला झगडा हेरिरहेको अवस्थामा एक्कासी ढुंगाले लागेर ढलेपछि चेपाङलाई उपचारका लागि अस्पताल लगिएको थियो । ढुंगा प्रहार गर्ने लामाले ग १ ख २८ ७३ नम्बरको ट्रकमा सहचालकको काम गर्दथे । उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
