
१३ मंसिर, काठमाडौं । काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।
लु २ख २९१ नम्बरको बस बिहान ९ः१५ बजे त्रिशूलीमा नदीमा खसेको हो । मृतक कसैको पनि सनाखत हुन सकेको छैन ।
पूर्णरुपमा त्रिशूलीमा डुबेको बसबाट हालसम्म १५ जना घाइतेको उद्धार गरिएको छ । ट्रकको ठक्करबाट दुर्घटना भएको बताइएको छ ।
नमस्ते अर्घाखाँचीको उक्त बस नदीमा डुबेको कारण बसमा यात्रुको संख्या यकिन हुन नसकेको प्रहरीले जानकारी दिएको छ । मृतकको सनाखत हुन सकेको छैन भने घाइतेहरुको विवरण पनि आएको छैन ।

दुर्घटनास्थलमा खटिएका नेपाल प्रहरीका डीएसपी शिव शर्मा आचार्यले ६ जनाको हालसम्म शव फेला परेको जानकारी दिए । अहिले घाइतेको उद्धार कार्य भइरहेको छ ।
‘दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने १५ जनाको जिवितै उद्धार गरेका छौं,’ डीएसपी आचार्यले भने, ‘बस पूर्णरुपमा डुबेको हुँदा उद्धारमा समस्या भएको छ ।’
दुर्घटनालगत्तै नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धारमा जुटेका छन् ।
