
बिग न्यूज
पोखरा, १३ मंसिर । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सेरबहादुर देउवाले वामगठबन्धनले नेता देखेर जनता डराउने व्यवस्था ल्याउन लागेको आरोप लगाएका छन् ।
‘जनतासँग शासन बदल्ने कि राख्ने भन्ने अधिकार छ, हामी जनतादेखि नेता डराउने शासनको पक्षमा छौँ’,बुधबार पोखराको अमरसिँहचोकमा आयोजित नेपाली काँग्रेसको चुनावी सभालाई संवोधन गर्दै उनले भने,‘कम्युनिष्टसँग जनता हिजो पनि डराउँथे, भोली पनि डराउने दिन ल्याउन लागेका छन् ।’
वामगठबन्धनले विजय प्राप्त गरे जनताको बोल्ने,लेख्ने र सम्पत्तिको अधिकार नहुने भन्दै उनले वामगठन्धन लोकतन्त्र सिध्याउने षड्यन्त्र भएको जिकिर समेत गरे । ‘यो चुनाव कम्युनिष्ट दमनको शासन रोज्ने कि लोकतन्त्र रोज्ने चुनवा हो’, वामगठबन्धनको आलोचना गर्ने क्रममा उनले अगाडि भने,‘ यो संविधानले आदिवासी, जनजाति, मधेशी सबैलाई ठाउँ दिएको छ तर कम्युनिष्टहरुले संविधान खारेज गरेर तानशाही लाद्न खोजेका छन् ।’आफूहरु जनतालाई मालिक बनाउने अभियानमा रहेको उनको उद्घोष रहेको थियो । सातसालदेखि परिवर्तनको नेतृत्व गरेको काँग्रेसले वामगठबन्धनको इरादा पूरा गर्न नदिने उनले दावी गरे ।
उनले वामगठबन्धन दिएको सम्वृद्धिको नारा फोस्रो भएको आरोप पनि लगाए । ‘कहाँबाट सम्वृद्धि – वामगठबन्धनले) ल्याउँछन्, उनीहरु आए स्वदेशी विदेशी लगानी नेपाल आउँदैन’, उनले भने,‘विदेशी त आउँदैनन्, आउँदैनन्, स्वदेशी लगानी पनि बाहिर जान्छ ।’नेपाली काँग्रेसको उदार आर्थिक नीतिलाई स्वदेशी तथा विदेशी लगानीकर्ताले विश्वास गर्ने जिकिर गर्दै उनले मूलुकलाई काँग्रेस नेतृत्वको सरकारले मात्र धनी बनाउने दावी गरे ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वामगठबन्धनले संसारमै असफल साम्यवादको नाममा नेपाललाई फोहर थुपार्ने कण्टेनर बनाउन लागेको आरोप लगाए । स्थानीय निकायको निर्वाचनबाट केही अगाडि देखिनासाथ एमालेले बहुदलीय मान्यतालाई तिलाञ्जली दिएर साम्यवाद अंगाल्न पुगेको जिकिर गर्दै उनले अगाडि भने,‘ अहिले एमालेले चरम अवसरवादिता प्रकट गरिरहेको छ ।’आफैले हस्ताक्षर गरेको संविधानमा मसी नसुक्दै एमाले र माओवादीले अनर्थको कुरा गरेको बताउँदै उनले कम्युनिष्टहरुले समस्या मात्र जन्माउने तर त्यसको समाधान नखोजको जिकिर गरे । वामगठबन्धनको सरकार बने सबैभन्दा पहिले समावेसी व्यवस्थाको अन्त्य हुने बताउँदै उनले तेस्रो विश्वमा लोकतन्त्रको रक्षा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिबाट हुनै नसक्ने दावी गरे ।
‘समावेसीलाई गठबन्धनले सबैभन्दा पहिले खोस्छ’,उनले भने,‘कार्यकारी राष्ट्रपति हुँदा अरु ताली बजाउन जाने हो, राष्ट्रपतिले अन्तैबाट( शासन ) संचालन गर्छ ।’ सोही सभामा बोल्दै काँग्रेस महामन्त्री डा. सशांक कोइरालाले काँग्रेसलाई जिताएमा नेपालीको भाग्यरेखा परिवर्तन गराउने उद्घोष गरे ।
उद्योगपति विनोद चौधरीले आफू राजनीति गर्न नभई बलिलो अर्थतन्त्रको आधारशीला तयार पार्न काँग्रेसमा आवद्ध भएको जिकिर गरे । नेपाली काँग्रेसले २०४८ सालमा लिएको उदार आर्थिक नीतिका कारण देशले फड्को मारेको दृष्टान्त दिँदै उनले रोजगारी सृजना र आर्थिक उन्नति काँग्रेसको एजेण्डा भएको दावी गरे । नेपाली काँग्रेस निर्वाचन परिचालन कमिटीका संयोजक बालकृष्ण खाँडले काँग्रेसलाई सिध्याउन खोज्नेहरु आफै सकिएको दृष्टान्त दिँदै अब सकिने पालो एमालेको भएको उद्घोष गरे ।

