चुनावको बेलामा मात्रै साईनो जोड्नेलाई भोट नदिनुस् : कृष्ण केसी

Share:

बिग न्यूज
पोखरा, १४ मंसिर । कास्की निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत प्रदेश ख तर्फ उम्मेदवारी दिएका काँग्रेस उम्मेदवार कृष्ण केसी मादी गाउँपालिकाको सिल्दुजुरे पुगेका छन् । समानुपातिक उम्मेदवार रसकुमारी गुरुङसहित सिल्दुजुरे पुगेको केसीको टोली थाक, तप्राङ र पानीघाटमा चुनावी सभामा सहभागी भएको थियो ।

चुनावी सभालाई सम्बोधन गर्दै प्रदेशसभा उम्मेदवार कृष्ण केसीले चुनावको बेलामा मात्रै आफ्नो हुन आउनेहरुलाई विश्वास नगर्न मतदाताहरुसँग आग्रह गरे । ‘म यहाँको जनजीवनमा घुलेको छु र यहाँको माटोसँग म सँधै परिचित छु । म उम्मेदवार हुँदा पनि यहिँको थिएँ र भएपछि पनि यहिँकै हुनेछु । यहि ठाऊँको विकासको लागि काम गर्नेछु ।’ केसीले भने–‘जनताले चुनावको बेलामा मात्रै कुटुम्बेरी साईनो गाँस्न आउनेहरुलाई चिन्नुपर्छ । र, सँधै साथ दिनेलाई चुन्नुपर्छ ।’

केसीले आफू हुर्किएको र जन्मिएको माटोलाई साक्षी राख्दै आफ्नो क्षेत्रको विकासको लागि जस्तोसुकै कदम पनि चाल्न पछि नपर्ने बताए । उनले काँग्रेसको पक्षमा भोट दिएर आफू र आफूसँगै उम्मेदवारी दिएका काँग्रेसका अन्य उम्मेदवारलाई पनि जिताउन मतदाताहरुसमक्ष आग्रह गरे ।

त्यस्तै समानुपातिक उम्मेदवार रसकुमारी गुरुङले जनतालाई झुक्याउने नियतले अन्य थुप्रै दलका मानिसहरु मत माग्न आएको बताउँदै जनतालाई नझुक्किन आग्रह गरिन् । उनले विभिन्न किसिमको सपना बाँडिरहेकाहरु भोलीको दिनमा आफू आफूमै भताभुङ्ग हुने निश्चित रहेको बताउँदै भर नभएकाहरुलाई भोट दिएर गल्ती गर्न नहुने सुझाव दिईन् ।

चुनावी सभामा काँग्रेसका जिल्ला सदस्य नविन सिग्देल, नेपाली काँग्रेस मादी गाउँपालिका सँयोजक देवीजंग गुरुङ, तरुण दल मादी गाउँपालिका सँयोजक विशाल गुरुङ, स्थानिय नेताहरु भीमकाजी गुरुङ, देव गुरुङ लगाएतले बोलेका थिए ।

त्यस्तै प्रतिनीधिसभा उम्मेदवार यज्ञबहादुर थापा र प्रदेश क तर्फका उम्मेदवार जीवन परियार पनि पार्टीको सेड्युल अनुसार आफ्नो क्षेत्रको प्रचारलाई तिव्रता दिईरहेका छन् । विभिन्न ठाऊँमा चुनावी सभा, घरदैलो गर्दै उनीहरुले नेपाली काँग्रेसको पक्षमा भोट मागिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: