मतदाताहरु दलीय भावनाभन्दा माथि उठ्न आवश्यक छ : गुरु बराल

Share:

बिग न्यूज
पोखरा,१६ मंसिर । कास्की क्षेत्र नम्बर २ अन्तरगत प्रदेश ‘क’मा उम्मेदवारी दिएका गुरुप्रसाद बरालले मतदातालाई यो चुनावमा दलीय भावनाबाट माथि उठ्न आग्रह गरेका छन् । लोकतन्त्रको संस्थागत विकास र संविधान कार्यान्वयनसँगै सम्बृद्धिको लागि अहिलेको चुनाव भैरहेकोले जनता दलीय भावनाबाट माथि उठ्नुपर्ने उनको धारणा छ ।

चुनावी अभियानको क्रममा प्रतिनीधिसभा सदस्य देवराज चालिसेसँगै पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ का विभिन्न गाऊँमा पुगेका बरालले यो चुनावमा लोकतन्त्रको पक्षमा मत हाल्न मतदाताहरुसँग अपील गरे । ‘अहिलेको चुनाव खासगरि लोकतन्त्रबादी र अधिनायकबादीबीचको चुनाव हो । त्यसैले लोकतन्त्र चाहनेहरु यतिबेला पार्टीको भावनाभन्दा माथि उठ्न जरुरी छ ।’ बरालले भने–‘लोकतन्त्रले हार्नु भनेको जनताले नै हार्नु हो । यो विषयमा सबैले गहिरो मनन् गर्न आवश्यक छ।’

उनले यतिबेला लोकतन्त्रको पक्षमा बोल्ने पार्टी नेपाली काँग्रेसमात्रै भएको दाबी समेत गरे । लोकतन्त्रबादीहरुले यतिबेला काँग्रेसको पक्षमा मत हालेर लोकतन्त्र बचाउन आवश्यक रहेको उनको भनाई थियो । उनले काँग्रेसलाई हाल्ने मत नै लोकतन्त्र, सम्बृद्धि र राजनीतिक स्थिरताको लागि हाल्ने मत भएको भन्दै जनतालाई नझुक्किन आग्रह समेत गरे ।

चुनावी कार्यक्रममा समानुपातिक उम्मेदवार वृन्दा राना, काँग्रेस नेताहरु सोभियतबहादुर अधिकारी, ऋषी काफ्ले, शोभाचन्द्र बराल, केशर निर्दोषी लगाएतले पनि काँग्रेसको पक्षमा मत मागेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: