
बिग न्यूज
पोखरा, १७ मंसिर । कास्की क्षेत्र नम्बर २ प्रदेश क तर्फ उम्मेदवारी दिएका गुरुप्रसाद बरालले जनता अधिकारसम्पन्न बन्नका लागि काँग्रेसलाई भोट हाल्न आवश्यक रहेको बताएका छन् । उनले अहिलेको चुनावलाई ‘परिवर्तनको लँडाई’को रुपमा अथ्र्याउँदै लोकतन्त्रमा मात्रै जनता अधिकारसम्पन्न हुने दाबी गरे ।
चुनावी प्रचारको क्रममा भरतपोखरी र पोखरा गरि दुई स्थानमा भएको युवा भेलालाई छुट्टाछुट्टै सम्बोधन गर्दै बरालले ‘परिवर्तन’को नाममा अधिनायकबादीहरु भने लाई साथ नदिन आग्रह गरे । ‘वाम गठबन्धनको नाममा देशमा अधिनायकबाद लाद्न खोज्नेहरु यतिबेला निकै चिल्ला गफ दिएर जनता झुक्याउन आएका छन् । यद्यपी उनीहरु जनताको अधिकारलाई तिलाञ्जली दिनेतर्फ उन्मुख छन् ।’ बरालले भने–‘त्यसैले असली लोकतन्त्रबादीलाई यो पटक भोट दिनुहोला ।’
उनले आफू युवा भएको र युवाहरुको प्रतिनीधित्व गर्दै चुनावी अभियानमा होमिएको समेत बताए । ‘युवाहरुमा व्याप्त निराशा, बेरोजगारीको समस्या जस्ता थुप्रै कुराहरु मैले नजिकबाट आफैले पनि झेलेको छु ।’ उनले भने–‘यस्तै थुप्रै युवाहरुलाई स्वरोजगार बनाउँदै देशलाई सम्बृद्धितर्फ लैजाने योजनासहित म राजनीतिमा होमिएको हुँ ।’ उनले युवाहरुको सहि परिचालनबाट मात्रै सम्बृद्धि सम्भव भएको उल्लेख गर्दै त्यसैको लागि आफू सेवामुलक भावले राजनीतिमा आएको समेत बताए ।
उनले यी सबै कुरा लोकतन्त्रमा मात्रै सम्भव भएको बताउँदै अधिनायकबादलाई देशमा पस्न दिनै नहुने तर्क पेश गरे । उनले अघिल्ला दिनहरुमा भनेजस्तै लोकतन्त्रको यहि सुन्दर पक्षलाई बचाउन अहिले मतदाताहरुले पार्टीगत स्वार्थभन्दा माथि उठेर मत हाल्नुपर्ने स्थिती आएको बताए ।
