मोदी स्वदेश फर्के, कोइरालालाई भारत भ्रमणको निम्तो, राष्ट्रपति सहित दलका शीर्ष नेतासँग भेटघाट, १९५० को सन्धि पुनरावलोकन गर्न तयार

Share:

काठमाडौं, श्रावण १९ –दुई दिने भ्रमण पूरा गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार साँझ स्वदेश प्रस्थान गरेका छन् । ७५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका भारतीय प्रधानमन्त्री मोदी साँझ ५ बजेर ५३ मिनेटमा स्वदेश फर्केका हुन् । मोदीलाई त्रिभूवन विमानस्थलमा प्रधानमन्त्री सुशील कोइराला लगायतले बिदाइ गरे ।

मोदी स्वदेश र्फकनेबेला बौद्धस्थित होटल हृयातबाट चाबहिल, गौशाला, सिनामंगल हुँदै तीनकुनेसम्म सवारी रोकिएको थियो । करिव डेढ घण्टा त्रिभूवन विमानस्थलबाट कुनै पनि जहाज आउजाउ भएनन् । मोदी स्वदेश र्फकनुअघि भारतीय विदेश मन्त्रालयका प्रवक्ता सैयद अकबरुद्दीनले होटल हृयातमा पत्रकार सम्मेलन गरी भ्रमण सफल भएको बताए ।  उनले आइतबार संसदमा व्यक्त भारतीय प्रधानमन्त्री मोदीका विचार स्पष्ट रहेको बताउँदै उनले दलका नेताहरुसँगको भेटमा पनि संविधान लेखनका लागि प्रेरित गरेको बताए ।

भारतले सन् १९५० को सन्धिमा पूनरावलोकन गर्नु पर्ने विषय स्पष्ट खाका सहित पेश गर्न नेपालसँग आग्रह गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुई दिने भ्रमणका क्रममा नेपाललाई यस्तो प्रस्ताव गरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता शैयद अकबरुद्दीनले जानकारी दिनुभयो ।
मोदीका तर्फबाट पत्रकार सम्मेलन गरी अकबरुद्दीनले भारत सन्धि पूनरावलोकनका लगि तयार रहेको र नेपालले संशोधन गर्नुपर्ने विषय प्रस्ताव गर्नुपर्ने बताउनुभयो । नेपालसँगको मित्रताका लागि भारतले ढोका खुल्ला राखेको भन्दै अकबरुद्दीनले सन्धि पुनरावलोकनका लागि नेपालले प्रष्ट खाका पेश गर्नु पर्ने बताउनु भएको हो । उहाँले उर्जा व्यापार सम्झौता र माथिल्लो कर्णाली आयोजना विकास सम्झौता ४५ दिन भित्र हुने पनि बताउनुभयो ।

उहाँले हिन्दू राष्ट्रबारे आफूहरुले केही नसुनेको बताउनुभयो । पत्रकार सम्मेलनमा अकबरुद्दीनले नेकपा माओवादी पनि राष्ट्रिय मूल धारको राजनीतिमा आउने विश्वास व्यक्त गर्नुभयो । स्वदेश फर्किने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी सुशील कोइरालाई भारत भ्रमणको निम्तो दिएका छन् । मोदीको निम्तोलाई प्रधानमन्त्री सुशील कोइरालाले स्वीकारेको र आपसी समझदारीमा भ्रमणको मिति तय गरिने मोदीको नेपाल भ्रमणबारे जारी गरिएको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।

भारतीय प्रधानमन्त्री मोदीले आफू आउनु अघिल्लो दिन सिन्धुपाल्चोकको माङ्खा गाविसमा भएको पहिरोले भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । मोदी भ्रमणको क्रममा नेपाली पक्षले नेपाल-भारत व्यापारमा नेपालले घाटा व्यहोर्दै आएकाले केही तरकारी, पस्मिनालगायत वस्तुमा कर छुट दिन आग्रह गरेको थिया । नेपालले जलविद्युत उत्पादन गरी भारतलाई बेचेर व्यापार घाटा कम गर्न सुझाएको विज्ञप्तीमा उल्लेख छ ।
भारतले महाकाली नदिमा सवारी साधन आवतजावतको लागि पुल बनाउन सहयोग गर्ने आश्वासन दिएको छ ।

दुई देशबीच सीमास्तम्भ र दशगजा क्षेत्रमा रहेको विवाद समाधान गर्ने सहमति भएको छ । दुई देशको संयुक्त आयोगको वैठकले निर्णय गरे अनुसार कालापानी र सुस्ताको सीमा विवाद समाधानको लागि काम गर्ने सहमति भएको छ । मोदी भ्रमणको क्रममा पूर्वसहमति अनुसार ५ स्थानमा क्रस बोर्डर रेलमार्गको कामलाई तीव्रता दिन सम्बन्धित अधिकारीलाई निर्देशन दिने र दुई देशबीच हुने व्यापारलाई संयोजन गर्न संयुक्त चेकपोष्ट स्थापनाको काम अघि बढाउने सहमति भएको छ । नेपाली पक्षको आग्रह अनुसार भारतले रक्सौल-अमलेखगञ्ज पाइपलाइन बिछ्याउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । दोस्रो चरणमा पाइप लाइनलाई काठमाडौंसम्म ल्याउने सहमति भएको विज्ञप्तीमा जनाइएको छ ।

दुई देशबीच हुलाकी राजमार्गको कामलाई तीब्रता दिएर एक बर्षभित्र दोस्रो चरणको काम थाल्ने सहमति भएको छ । नेपाल सरकारले गर्ने दोस्रो चरणको काममा भारतले आर्थिक सहयोग गर्ने विज्ञप्तीमा जनाइएको छ । भारतीय प्रधानमन्त्रीले भारतको सहयोगमा नेपालमा सञ्चालित विभिन्न आयोजनाको कामलाई तीब्रता दिन सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन् ।

सरकारले मध्य पहाडी राजमार्गको निर्माणको लागि भारतलाई आग्रह गरेको छ । नेपाल सरकारको आग्रहलाई भारतीय पक्षले सकारात्मक रुपमा लिएको विज्ञप्तीमा भनिएको छ । दुईदेश बीच माथिल्लो कणर्ालीको परियोजना विकास सम्झौता -पीडीए) र ऊर्जा विकास सम्झौता -पीटीए) ४५ दिनभित्र गर्ने सम्झौता भएको छ । त्यसै अनुसारको तयारी अघि बढाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिइएको छ । दुवै देशले अरुण तेस्रो, माथिल्लो मर्स्याङ्दी र तामाकोसी तेस्रोको लागि पनि परियोजना विकास सम्झौता गर्ने इच्छाएको विज्ञप्तीमा भनिएको छ । दुवै देशबीच पञ्चेश्वर परियोजना एक बर्षभित्र सुरु गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । दुई देशको प्रधानमन्त्रीको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा ६ महिनाभित्र परियोजनाको लागि पदाधिकारी नियुक्त गर्ने र एक बर्षभित्र योजना कार्यान्वयन गर्ने उल्लेख छ ।  भारतले नेपाल-भारत मैत्री शिक्षा अन्तर्गत विद्यार्थीलाई भारतको विभिन्न विश्वविद्यालयमा दिंइदै आएको छात्रवृत्ति कोटा १८० बाट २५० पुर्‍याइने बताइएको छ ।
नेपाल-भारतबीच बुद्ध सर्किट स्थापनाको लागि नेपाल सरकारको प्रस्ताव अनुसार सहयोग गर्न भारतले प्रतिबद्धता जनाएको छ । साथै, उसले जनकपुर, बराहक्षेत्र र लुम्बिनी विकासको लागि सघाउने आश्वासन दिएको छ ।

राष्ट्रपति यादवसँग मोदीको शिष्टाचार भेट

राष्ट्रपति कार्यालय शीलत निवासमा भएको भेटवार्तामा राष्ट्रपति डा. यादवले मोदीले आईतवार संसदमा गरेको सम्बोधनको प्रशंषा गरेका छन् । राष्ट्रपति यादवले आइतवारको संसदमा गरेको सम्बोधनले नेपालीको मन जितेको भन्दै मोदीको प्रशंषा गरेका थिए ।

मोदी र एमाले नेताहरुबीच भेटवार्ता

राष्ट्रपति यादवसँगको भेटपछि मोदीले होटल हायातमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नुभएको हो ।
भेटमा मोदीले नेपालको विकासका लागि योजना बनाउने र कार्यान्वयन गर्ने जिम्मा नेपालकै भएको भन्दै भारत एउटा छिमेकी देशका नाताले आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । भारतले सवै छिमेकी देश उन्नत भएको हेर्ने चाहना राखेको भन्दै मोदीले सवै छिमेकीप्रति समान दृष्टिकोण राखिने बताएको भेटपछि एमाले नेता राजन भट्टराईले जानकारी दिनुभयो ।

भेटपछि एमाले अध्यक्ष केपी ओलीले दुबै देशको हितका विषयमा छलफल भएको बताए । उनले नेपालको विकासमा भारतले सहयोग गर्न चाहेको जनाए । ओलीले विद्याुत व्यापार सम्झौताका विषयमा पनि कुराकानी भएको बताए । उनले आवश्यक तयारी नपुगेकाले सो सम्झौता हुन नसकेको जनाए । उनले पार्टीमा सम्झौताका बुँदाहरुबारे अध्यायन गर्न समय नपाएकाले अस्वीकार गरिएको बताए ।

मोदीलाई प्रचण्डको प्रश्न- तपाईको संरचनाले सहयोग त गर्ला ?

अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ अत्यन्तै सकारात्मक रहे पनि भारतीय संरचनाप्रति आशंका प्रकट गरेका छन् । मोदीसँगको भेटमा प्रचण्डले प्रश्न गरे-’नेपालको संविधान निर्माणमा सकारात्मक भूमिका खेल्नुभयो, तर तपाईको अहिलेको संरचनाले सहयोग त गर्छ ?’

संसदको भाषणमा आफूलाई अशोक सम्राटको भूमिकासँग तुलना गरेको स्मरण गर्दै प्रचण्डले मोदीलाई भने- ‘नेपालको शान्ति प्रक्रियालाई यति गहिरो र गम्भीरतासँग बुझिदिनुभएकोमा यहाँलाई धन्यवाद छ ।’ भारतबाट नेपालका सम्बन्धमा हुँदै आएको गैर राजनीतिक भूमिकाबाट आक्रान्त भइरहेका बेला मोदीको पहलले नेपाल भारत सम्बन्धलाई राजनीतिक स्तरमा वृद्धि गर्ने सम्भावना बढेको प्रचण्डले मोदीलाई बताए ।

नेपाललाई भारत–चीनबीचको गतिशील पुल बनाउने पुरानो प्रस्ताव एकीकृत माओवादीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दोहो¥याएको छ । माओवादी नेतृत्वको सरकारको पालामा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई भारत–चीनबीचको गतिशील पुल बनाउन प्रस्ताव गरेका थिए ।

दाहालको सो प्रस्तावलार्इ कांग्रेस आर्इ नेतृत्वको भारतीय सरकारले त्यस्तो बेला नभएको भन्दै अस्वीकार गरेको थियो । दाहाल ‘ओभरस्मार्ट’ बनेर चीनसँगको प्रसंग जोडेको भन्दै भारतीय संस्थापनले एमाओवादी प्रस्तावलाइ अस्वीकार गरेको थियो । प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि भएको चीन भ्रमणमा पनि माओवादी अध्यक्ष प्रचण्डले पूर्ब चीनीया राष्टपति हु जिन्ताओसंग सोही प्रस्ताव राखेका थिए । विश्व अर्थतन्त्रका उदीयमान दुइ राष्टको बीच पुल बन्ने प्रचण्डको प्रस्ताव ‘आलोकाचो’ भन्दै चीनले समेत अस्वीकार गरेको थियो ।
मोदीसँग भएको भेटपछि वरिष्ठ नेता डा बाबुराम भट्टराइले भने, ‘हामी दुई देशबीचको सम्बन्धलाई राम्रो बनाउन चाहन्छौं भन्ने कुरा भारतीय प्रधानमन्त्रीसँग राखेका छौं । नेपाललाई भारत–चीनबीचको गतिशील पुल बनाउन चाहन्छौं ।’

नेपालबारे तटस्थ रहन मोदीलाई कमल थापाको आग्रह, नेपालमा भइरहेको धर्म परिवर्तनबारे गुनासो

राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, हिन्दूराष्ट्र र संघीयताको विषय छलफलकै क्रममा रहेको भन्दै यस विषयमा तटस्थ रहन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका छन् । थापाले भारतीय प्रधानमन्त्री मोदीसंग सबैभन्दा छोटो समय भेट गर्ने मौका पाए । राजनीतिक भेटवार्ताको क्रममा थापाले अन्तिममा पाँच मिनेट समय पाएका हुन ।

थापाले हिन्दूराष्ट्र बनाउने कि धर्मनिरपेक्ष राष्ट्र बनाउने तथा संघीयता कि स्वायत्त राष्ट्र भन्ने विषय छलफलकै क्रममा रहेको भन्दै यी विषयमा भारतले तटस्थ रहनुपर्नेमा जोड दिएको राप्रपा नेपालका केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिए । जवाफमा मोदीले नेपालको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने स्पष्ट भन्दै भारत तटस्थ बस्ने बताएका थिए । मोदीले छिमेकी राष्ट्रको नाताले नेपालमा संविधान बनोस् भन्ने भारतीय चाहाना रहेको स्पष्ट पारेका छन् ।

भेटमा थापाले लोभ लालचमा पारेर नेपालमा धर्म परिवर्तनको गराउने क्रम बढेको भन्दै यसबारे मोदीको ध्यानाकर्षण गराएका थिए । जवाफमा मोदीले धर्म परिवर्तनको विषय गम्भीर रहेको भन्दै त्यसलाई रोक्न सबै क्षेत्रबाट पहल गरिनु पर्ने बताएका थिए । थापाले नेपालको प्रमुख समस्या गरिवी र बेरोजगारी भएको भन्दै नेपाललाई ओद्योगीकरणतर्फ लान सहयोग गर्न मोदीलाई आग्रह गरेका थिए ।

अध्यक्ष थापाले भारतमा नेपाली बजार राम्रो रहेको र भारतीय बजारमा नेपाली सामान पठाउनका लागि सहज र सरल पहुँच हुनुपर्नेमा जोड दिएका थिए । मोदीले भने भारत यस विषयमा सकारात्मक रहेको र नेपाललाई औद्योगीकरणतर्फ लैजान भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

मोदीले मधेसी नेतालाई भने-पहाडविरोधी भावनाबाट माथि उठ्नुस्

मोदी र विभिन्न राजनीतिक दलका मधेसवादी नेताहरुबीच भेटवार्ता भएको छ । तर, मोदीसँगको भेटपछि मधेसवादी दलका नेताहरु निराश बनेका छन् । भेटमा तमलोपा अध्यक्ष महन्थ ठाकुर र सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले आफूहरुमाथि विभेद भएको गुनासो गरेका थिए । ‘केही नेताले हामीमाथि विभेद भो भन्दा मोदीले राम्रो मान्नुभएन’ मधेस समता पार्टीका अध्यक्ष मेघराज नेपाली निषाधले मोदीलाई उधृत गर्दै भने- ‘तपाईहरु हिमाल, पहाड र तराईलाई जोड्ने चेष्टा गर्नुस् ।’

भेटमा कांग्रेस नेता अमरेशकुमार सिंहले संसदमा मोदीले सम्बोधनका क्रममा ‘मधेस’ को सट्टा ‘तराई’ शब्द प्रयोग गरेको तथा माथिल्लो कर्णालीसहितका पहाडी परियोजनाको मात्र चर्चा गरेको भन्दै गुनासो गरेका थिए । सिंहको जवाफमा मोदीले ‘तराई-मधेस’ भन्न आफू सकारात्मक रहेको भन्दै ‘पहाडबिरोधी’ मनोदशाबाट माथि उठ्न मधेसी नेताहरुलाई आग्रह गरेका छन् । भेटमा सहभागी एक नेताले भने-’मधेसले भनेको विकासमा सहयोग गर्छाैैं तर, एन्टी पहाडी भावनाबाट माथि उठ्नुस् भन्ने मोदीको आग्रह थियो ।’

मधेसलाई विशेष सम्बोधन गर्नुपर्ने मधेसी नेताहरुको जवाफमा मोदीले संसदमा सम्बोधनका क्रममा मधेसलाई मात्र नभई सिंगो नेपाललाई सम्बोधन गरिसकेको जवाफ दिएका छन् । ‘तपाईहरु पनि मधेस होइन, देश सोच्नुस्’ मोदीको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

उद्योगी- ब्यबसायीसँग मोदीको भेट, पूर्वाधारमा लगानी बढाउन जोड

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर्स अफ कमर्सका प्रतिनिधिले आज भेट गरेका छन् ।

महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डे, उद्योग परिसङ्घका अध्यक्ष नरेन्द्र बस्न्यात र नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहित विनोद चौधरी, भवानी राणा, पद्म ज्योति, उपेन्द्र महतो, सुरज वैद्यलगायतका नेपालका प्रतिष्ठित उद्योगी तथा व्यापारीले उहाँसँग करिब १५ मिनेट भेट गर्नुभएको थियो ।

हिजो व्यवस्थापिका–संसद्मा गर्नुभएको सम्बोधन र भारतीय प्रधानमन्त्रीको सम्मानमा प्रधानमन्त्री सुशील कोइरालाले दिनुभएको रात्रि भोजमा प्रधानमन्त्री मोदीले दिनुभएको मन्तव्यले नेपालको निजी क्षेत्र अत्यन्त उत्साहित भएको भेटपछि सञ्चारकर्मीलाई महासङ्घका अध्यक्ष पाण्डेले बताउनुभयो ।

शीतलनिवासमा ४५ मिनेट उभिए शीर्षनेता राष्ट्रपति कार्यालयको व्यवस्थापनबारे नेताको गुनासो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोेदीसहितको दिवाभोजका लागि सोमबार दिउँसो राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका नेताहरुले एउटै कोठामा कोचिएर झण्डै ४५ मिनेट उभिनुपरेको छ । बस्ने ठाउँसमेत नभएको कोठामा त्यसरी उभिनेहरुको ताँतीमा उपराष्ट्रपति परमानन्द झादेखि पूर्वप्रधानमन्त्रीहरु समेत थिए ।

राष्ट्रपति डा. रामवरण यादवले मोदीको सम्मानमा ११:४५ बजे दिवाभोजको आयोजना गरेका थिए । शीतलनिवासले उपराष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशसहित संविधानसभामा तीन सिटसम्म प्रतिनिधित्व गर्ने दलका अध्यक्ष र पूर्वसभामुखलाई निम्तो दिएको थियो ।
शीर्षनेताहरु निम्तो मान्न समयमै राष्ट्रपति कार्यालय पुगेका थिए । तर, राष्ट्रपति र मोदीबीचको भेट लम्बिएपछि ३०/३५ नेताहरुले एउटै कोठामा उभिएर आधा घन्टादेखि ४५ मिनेटसम्म कुर्नुपरेको हो ।

कोठामा कुर्सीको व्यवस्था नभएका कारण नेताहरुले उभिएरै समय काटेका छन् । ‘पहिलो तल्लाको लञ्च हलसँगैको कोठामा सबैलाई राखिएको थियो । तर, कुुर्सीको व्यवस्था थिएन’ एक नेताले अनलाइनखबरसँग भने-’व्यवस्थापन गर्दा भेट लम्बिए के गर्ने भन्ने नसोचिएकाले समयमै पुग्नेले ४५ मिनेटसम्म कुर्नु पर्‍यो ।’ केही ढीला पुग्नेले समेत आधा घण्टासम्म कुर्नु परेको एक नेताले बताए ।

झण्डै ४५ मिनेटको प्रतिक्षापछि राष्ट्रपति यादव भारतीय प्रधानमन्त्री मोदीलाई लिएर आए । लगत्तै यादवले उभिएर बसेका नेताहरुलाई एक-एक गरेर मोदीसँग परिचय गराएका छन् । लगत्तै नेताहरुलाई मोदीसँग दिवाभोजमा लगिएको थियो, जहाँ मोदीसँग अधिकांश समय राष्ट्रपति, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले मात्रै गफ गरेका थिए । अन्य नेताहरु भने ४५ मिनेटको पर्खाइपछि दिवाभोजतिर फर्किनु परेको एक नेताले बताए ।

निजी मिडियालाई राष्ट्रपति कार्यालयमा निषेध

राष्ट्रपति रामवरण यादवसँग हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेटको समाचार संकलन गर्न नेपाली निजी मिडियालाई निषेध गरिएको छ । सोमबार बिहान ११ बजे राष्ट्रपति कार्यालय पुगेका नेपाली निजी सञ्चारमाध्यमका संवाददाताहरुलाई सुरक्षाकर्मीले शीतल निवासको गेटमै रोके ।
राष्ट्रपति कार्यालयका सचिव शारदाप्रसाद त्रितालले सरकारी सञ्चारमाध्यमलाईमात्र प्रवेश गर्न दिने अनुमति भएकाले रोकिएको बताए । भारतीय मिडियाकर्मीले भने प्रवेश पाए ।

पशुपतिको आगन्तुक पुस्तिकामा के लेखे मोदीले ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बिहान पशुपतिनाथको दर्शन गरेका छन् । बिहान साढे ९ बजे पशुपतिनाथ मन्दिर पुगेर करिब ५० मिनेट विशेष पुजाआजा गरेका थिए ।मोदीले पशुपतिनाथको दर्शनका क्रममा पशुपतिनाथमा रहेको आगन्तुक पुस्तिकामा आफूलाई लागेको केही शब्दहरू लेखेका छन् । उनले करिब १४ लाईनमा करिब ६० शब्दमा पशुपतिनाथको गुनगान गाएका छन् । उनले पशुपतिनाथलाई आस्था तथा विश्वासको अद्धितीय केन्द्र भएको लेखेका छन् । उनले काशीमा रहेको विश्वनाथ र पशुपतिनाथ एकै भएको जनाएका छन् । यस्तै, आफूले साउनको सोमबार पशुपतिनाथ दर्शन गर्न पाउँदा आफू भावविभोर भएको समेत उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री मोदीले पशुपतिनाथले दुवै देशका जनतालाई जोड्ने विश्वास समेत उक्त आगन्तुक पुस्तिकामा लेखेका छन् ।

उनले आफ्नो हस्ताक्षर गर्दै नाम, पद र मिति समेत लेखेका छन् । उनले नाम तथा ठेगानाको ठाऊँमा समेत आफ्नो नाम लेखेका छन् भने प्रधानमन्त्री, भारत भन्ने समेत जनाएका छन् ।

मोदीले गर्दा दुःख पाए सर्वसाधारणले
नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका कारण सर्वसाधारणहरुले हैरानी र सास्ती भोग्नु k¥of] । मोदीको सुरक्षाको लागि भन्दै लामो समय सवारी आवागमनमा रोक लगाएपछि सर्बसाधारणहरुले दुई दिनदेखि निकै असहज महसुस गरिहे । मोदी आवागमन हुने क्षेत्रका सर्वसाधारणले मोदी सुरक्षालाई मध्यनजर गर्दै सरकारले आवागमनमा रोक लगाएपछि आफ्नो दैनिक जीवनयापनका कठिनाई भएको भन्दै आक्रोस व्यक्त गर ।

दिनबन्धु पोखरेल भन्छन्, ‘नेपालमा दुईवटा मात्र शक्तिपिठ छन् भन्नु गलत’

मोदीले ५१ शक्ति पिठमध्ये नेपालमा जम्मा २ वटा मात्र शक्तिपिठ भएको बताए पनि नेपाली पण्डितहरु त्यससँग सहमत छैनन् । नेपाली पण्डितका अनुसार नेपालमा २ वटा मात्र हैन, दर्जनौं शक्ति पिठ छन् ।

पण्डित दिनबन्धु पोखरेलका अनुसार स्कन्द पुराणको हिमवत् खण्ड र शिव पुराण बमोजिम ६४ लिंग रहेको नेपाली भूमि र यसको केन्द्रमा रहेको पवित्र पाशुपत क्षेत्र वरपर सतिदेवीका अंग पतन भएर बनेका धेरै शक्तिपिठ छन् ।

मोदीले आइतबार संसदमा भाषण गर्र्दै हरेक भारतीयले ५१ शक्तिपिठको दर्शन गर्ने र तिमध्ये २ वटा शक्तिपिठ नेपालमा भएको बताएका थिए । ‘प्रधानमन्त्री मोदीजीले कसरी कुन विद्वान पण्डितको सल्लाहमा नेपालमा जम्मा २ वटा मात्र शक्ति पिठ छन् भनेर भन्नुभो, त्यो उहाँले जान्ने कुरा हो । म त्यसमा सहमत छैन’, पण्डित पोखरेलले भने, ‘नेपालमा दर्जनौं शक्ति पिठ छन् । त्यसको प्रमाण पुराणमै वर्णित छ ।’

Source: विभिन्न अनलाईन

कमेन्ट गर्नुहोस्
Share: