ल्होछारमा घान्द्रुकको गुम्बामा ‘विशेष पुजापाठ’

Share:

बिग न्यूज
पोखरा, ९ पुस । तमु ल्होछारको अवसरमा घान्द्रुकको ङग्युर दोर्जे साङाग छ्योंएलिङ गुम्बामा विशेष पुजापाठ हुने भएको छ । चरा वर्गको विदाई र कुकुर वर्गको आगमनको अवसरमा घान्द्रुक आठभाईघरस्थित गुम्बाको आयोजनामा पुजापाठ हुन लागेको हो ।

ल्होछारको अवसरमा हुने विशेष पुजापाठसँगै गुम्बामा ग्रहशान्ति, पितृपुजा तथा सामुहिक भोज समेत हुने गुम्बाका लामा अमृत गुरुङले जानकारी दिए । पुस ११ गतेदेखि शुरु हुने ल्होछार विशेष कार्यक्रम १५ गतेसम्म चल्ने गुम्बाले जनाएको छ । गुम्बाले गर्न लागेको ल्होछार विशेष कार्यक्रमलाई आठभाई थर आमा समूह, आठभाई बाह«घर प्लहनेरो भाईखलक र आठभाई बाह«घर प्लहनेरो रिह्चमी (चेलीबेटी)सँगै घान्द्रुकबासीको पनि विशेष सहयोग रहने गुम्बाका लामा अमृत गुरुङले जानकारी दिए ।

कार्यक्रम तालिकाअनुसार पुस १२ गते पुजापाठको शुरुवात हुनेछ । पुस १२ देखि १४ गतेसम्म ह्युमपति पुस्तक वाचनसँगै पुस १४ गते दिउँसो तोनाम घोसुम (ग्रह) शान्ति पुजा हुने गुम्बाले जनाएको छ । त्यस्तै ल्होछार विशेष कार्यक्रमको अन्तिम दिन पुस १५ गते विहान पितृ पुजा, दिप प्रज्वलन, कङ्ग्युर (त्रिपिटक) ह्युम पुस्तकसहित गाउँ परिक्रमा र लामा हिमालध्वज तुलाचनको बाहुलीबाट आयु छेवाङ (अभिषेक) लिने कार्यक्रम रहेको छ ।

सो पुजापाठमा उपस्थितीको भई ल्होछारको शुभकामना आदानप्रदान गर्न गुम्बाले निमन्त्रणा समेत दिएको छ । गुम्बाले ल्होछारको अवसरमा आयोजना गरेको यस्तो खाले कार्यक्रमको यो २० औँ सँस्करण हो ।

कमेन्ट गर्नुहोस्
Share: