
रञ्जन अधिकारी पोखरा, २१ साउन / गत असार अन्तिम साता क्षेत्रीय प्रशासक अर्जुनबहादुर कार्कीको निर्देशनमा पोखरामा चल्ने सबै ट्याक्सीले एक साताभित्र भाडा समायोजन गरी अनिवार्य मिटरमा चल्न निर्देशन दिए । सो अवधिमा मिटर जडान नगर्ने र मिटर जडान गरेपछि पनि नचलाएको भन्दै दुई सय बढि ट्याक्सी प्रहरी कारबाहीमा परे । तर, ट्याक्सी व्यवसायीहरुले कुनै हालतमा मिटरमा नचल्ने भन्दै अटेर गरेपछि अहिले कारबाही रोकिएको छ ।
समितिका अध्यक्ष गान्धीराज गिरीले पेट्रोलको नयाँ मूल्य अनुसार भाडा समायोजन नभएसम्म कुनै हालतमा पोखराका ट्याक्सी मिटरमा गुड्न नसक्ने बताए । ट्याक्सी व्यवसाय समिति पोखराको बुधबार भएको ३४ औं महासमिति बैठक एवं वार्षिक साधारणसभामा उनले भने – ‘प्रतिलिटर १९ रुपैंया मूल्य बढिसकेको छ । ५ रुपैंया मूल्य बढ्दा भाडा बढाउने सरकारसँग सहमति भएको हो । त्यसैले मिटरमा चल्न सक्दैनौं ।’
कार्यक्रमको अध्यक्षता समेत गरेका अध्यक्ष गिरीले पोखरामा १८ किमि क्षेत्र मात्र हाईवे भएकाले सो बाहेक अन्य सडक खण्डमा मिटरमा हिँड्नै नसक्ने स्पष्ट पारे । ‘१८ किमि क्षेत्रमा त टु वे छ । त्यसैले यात्रु पाउन सकिन्छ ।’ उनले भने – ‘पोखराका १५० किमि भित्री बाटाहरुमा मिटरमा बोक्न सकिँदैन । खाली खाली फर्कनुपर्ने भएपछि तेल खर्च पनि उठ्दैन ।’ उनले प्रशासन दादागिरी शैलीमा अघि नबढ्न चेतावनी दिँदै आफूहरु वार्तासंवादबाटै समस्या हल गर्न चाहेकाले कारबाही अभियान सुरु गर्दा समेत संयमित भएर बसेको दाबी गरे ।
गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख मनोज पोख्रेलले मिटर जडान तथा समायोजन कार्य भईरहेको बताएपछि त्यसको खण्डन गर्दै अध्यक्ष गिरीले पुरानो मूल्य अनुसार कुनै हालतमा नचल्ने भन्दै नयाँ मूल्य अनुसार समायोजन गर्न अनुरोध गरे । पोख्रेलले रोड टेष्टबाट काम भईरहेकाले ढिलाभएको भन्दै रोलिङ मेशिन आवश्यक भएको बताए ।
यसअघि, उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि यातायात व्यवस्था कार्यालय गण्डकीका प्रमुख देवीराम भण्डारीले उपभोक्ताका हितलाई मध्यनजर गर्दै सेवा सञ्चालनमा जोड दिए । उनले वैज्ञानिक भाडादर निर्धारण सम्बन्धमा समितिले प्रतिवेदन पठाईसकिएको जानकारी दिँदै यातायात व्यवस्था विभागले चाँडै नै निर्णय गर्ने विश्वास व्यक्त गरे ।
‘आफ्नो व्यवसायलाई मर्यादित बनाउने आफैंले हो । म आफ्नो स्थानबाट सक्दो प्रयास गर्नेछु’ भण्डारीले भने– ‘कसैले कसैलाई निषेध गरेर होईन, सहकार्य गर्दै अघि बढौं । यस क्षेत्रमा देखिएका समस्या समाधान गरौं ।’ उनले यातायातलाई समयसापेक्ष, विश्वासिलो र भरपर्दो बनाउन ऐन, नियम, निर्देशिका र परिपत्रअनुसार अघि बढ्ने जनाए । पूरानो गाडी विस्थापित गर्ने नीति अनुसार १००० सीसीको ठाउँमा १२०० सीसीको गाडी दर्ता भएको समेत उनले जानकारी दिए ।
नेपाली काँग्रेस, कास्कीका सचिव कृष्ण केसीले यातायात क्षेत्र सिण्डिकेट लाद्ने क्षेत्रका रुपमा चिनिएपनि अन्य देश र नेपालको सन्दर्भमा फरक भएको भन्दै घुमाउरो भाषामा सिण्डिकेटको पक्षमा रहेको जनाए । ‘यातायातका साधनहरु यहाँ बन्दैनन् । ठूलो लगानी छ ।’ उनले भने– ‘त्यसैले सिण्डिकेट विनाको प्रतिष्पर्धा उपयुक्त नहुन सक्छ ।’
नेकपा एमाले कास्कीका सचिवालय सदस्य नारायण बास्तोलाले व्यवसायी पनि नमर्ने र उपभोक्ता पनि नठगिने हिसाबले मिटर कार्यान्वयनमा जोड दिए । एकीकृत माओवादी कास्कीका अध्यक्ष दीपक कोईराला रुपकले नेपालको कानुन नै फितलो बन्दा यातायात मात्रै होईन हरेक क्षेत्रमा समस्या आएको बताए । अखण्ड नेपाल कास्कीका टेकन गिरीले पोखराको यातायात क्षेत्रमा सिण्डिकेट नै नभएको दाबी गरे ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ, गण्डकीका संयोजक सिंहबहादुर कार्कीले मजदुर, व्यवसायी र समितिमा अनुशासन आवश्यक रहेको बताउँदै यातायात व्यवसायीको हकहितमा एकजुट भएर लाग्नुपर्ने बताए । गण्डकी धौलागिरी सार्वजनिक यातायात समितिका संयोजक बसन्त प्रधानले गाडीमा एकरुपता आवश्यक रहेको बताए ।
अखिल नेपाल यातायात मजदुर संघका केन्द्रिय उपाध्यक्ष रुद्र गौतमले यातायात क्षेत्रमा ८५ प्रतिशत स्वरोजगार मजदुर रहेको जनाउँदै राज्यले मजदुरहरुको आवाज नसुनेको गुनासो गरे । उनले पोखरामा पर्यटन व्यवसायीले नै सिण्डिेट लादेको आरोप लगाउँदै रातो र हरियो नम्बर प्लेटले पनि यात्रु बोकेको उल्लेख गरे ।
कार्यक्रममा पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारी, समितिका संस्थाप अध्यक्ष अशोककुमार थापा, नेपाल यातायात मजदुर संघ कास्कीका जीत गुरुङ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, गण्डकीका विष्णु केसी, अखिल नेपाल यातायात मजदुर संघ कास्कीका सूर्यमणि लामिछाने, प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवर, उपभोक्ता मञ्च कास्कीका सचिव राजु अधिकारीले बोलेका थिए । वरिष्ष्ठ उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव पूर्ण बहादुर गुरुङले गरेका थिए ।
सो अवसरमा उत्कृष्ट चालक, व्यवसायी तथा चालकका छोराछोरीमध्ये एसएलसीमा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान गरिएको थियो भने मृत्यु भएका चालकका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो ।
साधारणसभामा समितिका महासचिव अग्निधर खनालले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष आत्माराम श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
समितिमा करीब तीन हजार तीन सय ट्याक्सी दर्ता छन् । ती मध्ये करीब १८ सय ट्याक्सी मात्रै नापतौलमा दर्ता छन् भने ११ सय मिटर जडित छन् । ती मध्ये अधिकांशले समायोजन गरेका छैनन् । मिटरमा नचल्ने ट्याक्सीलाई दुई सय देखि पटके कारबाही अन्तर्गत ट्राफिक प्रहरीले बढिमा एक हजार रुपैंयासम्म जरिवाना गर्न सक्नेछन् । त्यो भन्दा माथिल्लो कारबाही यातायात व्यवस्था कार्यालयले गर्नेछ । कार्यालयलाई बढिमा पाँच हजारसम्म जरिवाना गर्ने अधिकार छ भने त्यसपछि रुट पर्मिट नै खारेज गर्न सक्नेछ ।
