
२१ साउन | तस्वीरमा अंकमालमा बाँधिएका नायक गजित र उनका छोरा सौगात विष्ट हुन् । उनका छोरा सौगात अहिले ८ वर्षका मात्र भए । तर उनी फिल्मको निर्देशन गर्न कस्सिएका छन् । बुधबार काठमाण्डौमा एक विशेष समारोहका बिच सौगातले फिल्म निर्देशन गर्ने कुराको औपचारिक जानकारी दिईयो ।
संभवत, सौगात बिष्ट विश्वकै कान्छा निर्देशक हुनेछन् । उनले निर्देशन गर्ने फिल्मको नाम ‘‘लभ यू बाबा’ रहने सोहि अवसरमा जानकारी दिईयो । भिन्न शैलीमा मञ्चमा देखिएका सौगातले आफूले सबै कुरा वुझेर नै फिल्म बनाउन लागेको बताए । बाबु गजित बिष्टको प्रेरणाले यो क्षेत्रमा हात हाल्न लागेको बताउने सौगातले यसअघि केही फिल्ममा काम पनि गरिसकेका छन् ।
फिल्मको ज्ञान र बिषयवस्तु वुझेर आफूले निर्देशनमा हात हाल्न लागेको उनको भनाई थियो । फिल्मका कास्टिङ डिरेक्टर शान्तिप्रियले सुरुवातमा सौगातको कुरालाई आफूले नपत्याएपनि पछि उनीसँग संगत गर्दै गएपछि विश्वास लागेको बताए । फिल्म ‘लभ यू बाबा’ १० बर्षकी एक बालिकाको सेरोफेरोमा घुम्नेछ । फिल्ममा बालिकाको भूमिकामा सौगातकी दिदी संगम बिष्टले अभिनय गर्नेछिन् ।
एक सानी छोरीलाई आफ्नो आमाको अभाव हुन नदिन बाबुले गरेको संघर्षमा फिल्म घुम्नेछ । फिल्ममा गजित बिष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, वसन्त भट्ट, निर्मल शर्माको मुख्य भूमिका रहनेछ । फिल्ममा अथिती भूमिकामा भने नायिका अनु शाह र संचारकर्मी सुव्रत आचार्य देखिनेछन् ।
स्वरुपराज आचार्य, डेनी निरौला, दीपक शर्मा र प्रदिप बास्तोलाको संगीत, गम्भीर बिष्टको पटकथा, संवाद र नृत्य, गजित बिष्टको कथा, चन्द्र पन्तको द्वन्द्व, दिव्यराज सुवेदीको छायांकन रहने फिल्मलाई प्रितम पाण्डेले सम्पादन गर्नेछन् । निर्देशक सौगातकी आमा संझना पोख्रेलको मुख्य लगानी रहेको फिल्ममा रोशनी बज्रचार्य सहनिर्मात्री हुन् । कार्यक्रममा बिहे गरेको १२ बर्षपछि नायक गजित बिष्टले श्रीमती र छोराछोरी पनि सार्वजनिक गरेका थिए ।
Source: मेनखबर
