कोरिया जान फारम भर्नेको पोखरामा भिड

Share:

गोकुल बानियाँ पोखरा २८ साउन । कोरियाली भाषा परिक्षाको लागि राजधानी बाहिर पहिलोपटक आबेदन फारम भर्ने ब्यबस्था मिलाएपछि पोखरामा युवाहरुको भिड लागेको छ ।

बुधवारदेखि सुरु भएको आबेदन फारम बितरण र संकलन कार्यक्रम अन्तर्गत पोखरा–१६ बाटुलेचौर स्थित बिध्याबासिनी उच्च माबि केन्द्रमा मंगलवार बेलुकी लाईनमा बसेका युवाहरुले रातभरको प्रतिक्षापछि बुधवार अपरान्ह मात्रै फारम बुझाउन पाएको बताएका छन् । पोखरामा तोकिएको एउटा मात्र केन्द्रमा आबेदन फारम बुझाउन पश्चिमाञ्चलको गण्डकी र धौलागिरीका जिल्लाहरुबाट युवायुवति आईपुगेका छन् ।

फारम बितरण र संकलनको लागि केन्द्रमा ६० कर्मचारी खटाईएको छ भने महिला र पुरुषको छुट्टा छुट्टै लाईनको ब्यबस्था गरिएको छ । बुधवार पहिलो दिन पुरुषको तुलनामा महिला आबेदनकको संख्या निकै न्यून रहेको पोखरा केन्द्रका संयोजक हरि प्रसाद शर्माले जानकारी दिए ।

मंगलवार रातिदेखि परेको भारी बर्षाको वास्ता नगरी युवा युवति लाईनमा बसेका छन् । फारम बुझाउने समय बिहान ९ देखि साझ ६ बजेसम्म निर्धारण गरिएको छ । मंगलवार अपरान्ह ४ बजेखि लाईनमा बसेका युवाले २४ घण्टापछि बुधवार अपरान्ह ४ बजेमात्रै भित्र प्रबेश पाएका थिए । आबेदन फारम भर्ने युवाहरुको भिड अत्याधिक रहेको र छिटो छरितो सेवाको लागि सोहि अनुसारको ब्यबस्थापन गरिएको शर्माले दाबि गरेका छन् ।

बुधवारदेखि शनिवार सम्म चार दिनमा पोखराबाट १० हजार आबेदन संकलन गर्ने लक्ष्य राखिएको छ । तर युवाहरुको अत्याधिक भिडको कारण यो संख्या बढ्ने अनुमान गरिएको छ । पहिलो दिन मात्रै लाईन बसेर पनि भर्न नपाएका दुई हजार भन्दा बढीलाई टोकन दिएर पठाईएको शर्माले बताएका छन् । आज लाईनमा बसेर पनि नपाएका र टोकन लिएर जानेको लागि भोलि छुट्टै लाईनको ब्यबस्था गरिने र नयाँ आउनेको लागि छुट्टै लाईन हुने शर्माले बताएका छन् ।

यसअघि आबेदन फारम भर्नको लागि काठमाण्डौ सम्म धाउनुपर्ने बाध्यता हटेकोमा भने युवाहरु खुसी भएका छन् । तर आबेदन फारम भर्ने प्रक्रिया बैज्ञानिक नभएकाले दुःख पाएको उनिहरुको गुनासो छ । अमेरिकन डाईभर्सिटी भिषा डिभी जस्तै ईपिएस फारम पनि अनलाईन्बाटै भर्ने ब्यबस्था गर्न उनिहरुले माग गरेका छन् ।

तस्विर सौजन्य– राधिका कंडेल

कमेन्ट गर्नुहोस्
Share: