
पोखरा, २८ साउन /नेपाली नारीहरुको महान पर्व हरितालिका तीज पर्व आउन २ साता बाँकी रहदा विभिन्न संघसंस्थाले तीज मेलाको तयारी तिव्र पारेका छन् । तीजलाई महोत्सवकै रुपमा मनाउदै आएका विभिन्न संघसंस्थाले आन्तरिक व्यवस्थापन र प्रचार प्रसारलाई तिव्रता दिएका हुन् ।
पोखरामा ऐतिहासिक तीज महोत्सव हुदै आइरहेको लामाचौर र बाटुलेचौरमा पनि मेलालाई महोत्सव र संस्कृति प्रधान बनाउा तयारी तिव्र पारेका छन् । लामाचौरमा हुने महोत्सवको आयोजना विगत १२ वर्ष देखि नव आदर्श सामुदायिक विकास समाजले गर्दै आइरहेको छ भने बाटुलेचौरमा हुने मेलाको व्यवस्थापन स्थानिय समितिले गर्दै आइरहेको छ ।
बाटुलेचौरमा पहिला हिमालय क्लब र वातावरण संरक्षण क्लबले गर्दै आएता पनि विगत ३ वर्ष देखि स्थानिय स्तरमै समिति गठन गरेर निरन्तरता दिइएको छ । लामाचौरको महोत्सवको तयारी तिव्र पारिएको समाजका अध्यक्ष बुद्धिबहादुर खत्री क्षेत्रीले जानकारी दिए । स्वागतद्धार निर्माण र मैदानलाई फराकिलो पार्ने काम भैरहेको बताए । प्रचारप्रसारको काम तिव्र पारिएको तथा स्थानिय रेडियो र पत्रपत्रिकामा विज्ञापन प्रशारण तथा प्रकासित गर्ने कार्य सुरु गर्न लागिएको प्रचार संयोजक सञ्जय अधिकारीले जानकारी दिए ।
त्यस्तै नगरबसमा व्यानर टाँस्ने काम भैरहेको छ । भदौ १० देखि १२ गतेसम्म हुने महोत्सवमा राष्ट्रिय महिला भलिबल, तीज गीत प्रतियोगिता, कास्की जिल्ला स्तरीय भलिबल प्रतियोगिता, लोक नृत्य प्रतियोगिता लगायतका कार्यक्रम समावेश गरिएको छ । महोत्सवको मुख्य प्रायोजक कैलाश विकास बैँक र प्रयोजकमा एयर एसिया र एकता बुक्स रहेका छन् ।
त्यस्तै बाटुलेचौरमा पनि मेलाको आन्तरिक व्यवस्थापनलाई तिव्रता दिइएको छ । मैदान फराकिलो पार्ने तथा प्रचारप्रसारका काम सुरु गरिएको मेला आयोजक समितिले जनाएको छ । पोखराका विभिन्न संघसंस्थाले पनि तयारी सुरु गरेको जनाएका छन् ।
