
गीता पोखरेल/बिग एफ.एम,पोखरा २१ साउन । नेपाल सामाजिक परिचालन कर्मचारी सघं गण्डकी प्रदेशले आफुहरुको माग ५ दिनभित्र सम्बोधन नभए आउदो आइतबारबाट चरणबद्ध आन्दोलन गर्ने भएको छ ।
सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । गण्डकी प्रदेश सरकारसंग सामाजिक परिचालकलाई पुर्नवाहाली गर्न, नेपाल सरकारको सम्पुर्ण सेवा सुविधा उपलब्ध गराई कार्यालय सहायक पदमा म्याद थप गरी निरन्तरता पाउनुपर्ने, योग्यताको आधारमा एकपटक उमेरको हद नलाग्ने गरी दरबन्दी सृजना गरी स्थानीय तह कर्मचारीमा समायोजन गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन गर्न लागिएको सघंका महासचिव तेजप्रसाद शर्माले जानकारी दिएका छन् ।
लामो समयदेखि सरकारी सेवामा आवद्ध कर्मचारीका रोजगार खोसिएको भन्दै परिचालकलाई पुर्नवाहाली गर्न माग गरिएको महासचिव शर्माले बताए । स्थानीय सरकारले आफुहरुको जागीर खोस्दा आफुहरुको भविष्य समेत अन्यौलमा परेको उनको गुनासो रहेको थियो । रोजगारविहीन बन्दा अरु स्थानमा पनि रोजगार पाउन समस्या भएको र लगातारको आन्दोलनबाट समेत आफुहरुको माग पुरा नभएको भन्दै महासचिव शर्माले तत्काल सम्बोधनको लागि पहल गरिदिन समेत आग्रह गरेका छन् ।
२०७५ अषाण मसान्तमा लामो समयदेखी कार्यरत कर्मचारीलाई रोजगारबाट हटटाइको उमेर हद लगायत अन्य कारण रोजगारी पाउन समेत असम्भव भएको भन्दै गण्डकी प्रदेश सरकारले अबको ५ दिनभित्र माग सम्बोधन नगरे सघंले चरणबद्ध आन्दोलन गर्ने संस्थाका सचिव भावना श्रेष्ठले बताइन् ।
