यू-१६ प्रिमियर क्रिकेटमा नेपालको शानदार सुरूवात, थाइल्यान्ड १० विकेटले पराजित

Share:

काठमाडौं, २९ साउन  । मलेसियाको क्वालालाम्पुरमा शुरू एसीसी यू-१६ प्रिमियर क्रिकेटमा नेपालले शानदार सुरूवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई १० विकेटले पराजित गरेको छ ।

थाइल्याण्डविरुद्ध नेपालको बलिङ र व्याटिङ दुबै चल्यो । जितका लागि थाइल्याण्डले दिएको ४९ रनको लक्ष्य नेपालले विकेट नगुमार्इ ६.१ ओभरमै भेट्टयो । नेपालका लागि सुशान्त थापाले अविजित २५ र रवि चन्दले १६ रन बनाए ।

यसअघि पहिले ब्याटिङमा उत्रेको थाइल्याण्डका ब्याट्सम्यानहरू जितेन्द्र सिंह ठकुरीको घातङ बलिङको शिकार भएपछि ३२।४ ओभरमा ४८ रनमा अल आउट भएको थियो ।

स्पिनर ठकुरीले ६ ओभरमा मात्र ३ रनमात्र खर्चेर ५ विकेट लिएका थिए । उनी म्यान अफ दि म्याच बने । नेपाली टोलीले उपाधि जित्ने लक्ष्य लिएको छ । १६ मुनिको उमेर समूहमा नेपालले उपाधि जित्न सकेको छैन ।

यसअघि नेपाल दुईपटक उपविजेतामा सीमित भएको थियो । सन् २०१० र २०१२ को एसीसी यु-१६ प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: