जनताको गुनासो अब मुख्यमन्त्रीले सुन्ने ! गण्डकी प्रदेशमा सुरु भयो ‘हेलो मुख्यमन्त्री’

Share:

४ भदौ, पोखरा । गण्डकी प्रदेश सरकारले ‘हेलो मुख्यमन्त्री’ सोमबारदेखि सुरु गरेको छ । संघीय सरकारको ‘हेलो प्रधानमन्त्री’कै जस्तो जनताको गुनासो सुन्न प्रदेश सरकारले ‘हेलो मुख्यमन्त्री’ सुरु गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफैले फोन उठाएर ‘हेलो मुख्यमन्त्री’को उद्घाटन गरे । ‘हेलो मुख्यमन्त्री’मा गण्डकी प्रदेशका जनताले १०९४ मा फोन गरेर गुनासो राख्न सक्नेछन् । पूर्वाहृन १० बजेदेखि अपराहृन ५ बजेसम्म कर्मचारी बसेर गुनासो टिप्नेछन् भने त्यसबाहेकको समयमा अटोमेटिक रुपमा गुनासो रेकर्ड हुनेछ ।

त्यस्तै, एन्ड्रोइड मोवाइल प्रयोगकर्ताले Hello CM Android App डाउनलोड गरी सोहि एपमार्फत गुनासो राख्न सक्नेछन् । यसैगरी हेल्लो मुख्यमन्त्रीको वेभसाइट Hellocm.gandaki.gov.np मा गएर, hellocm@gandaki.gov.np मा मेल गरेर र हेल्लो मुख्यमन्त्रीको कार्यालयमै सिधै गएरपनि गुनासो राख्न सकिने जनाइएको छ ।

टिपिएको वा रेकर्डेड गुनासाहरु सुनेर तत्काल समाधान गरिने प्रदेश सरकारले जनाएको छ । राखिएको गुनासाको कार्य प्रगति पनि समाधान भएका गुनासाहरुको Hellocm.gandaki.gov.np मा हेर्न सकिनेपनि जनाइएको छ ।

उद्घाटनको अवसरमा बोल्दै मुख्यमन्त्री गुरुङले गुनासोको प्रकृति हेरेर तत्काल सम्बोधन गर्न प्रयास गर्ने बताए । उनले भने, ‘प्रदेश सरकारले गर्न सक्ने भए तत्काल प्रमुख जिल्ला अधिकारीमार्फत काम गरिन्छ, प्रदेश सरकारले नसक्ने भए संघीय सरकारलाई पठाइन्छ ।’

कमेन्ट गर्नुहोस्
Share: