सङ्घीय संविधानका लागि तेस्रो जनआन्दोलन : राई

Share:

पोखरा, २९ साउन / नेकपा (एकीकृत) सम्बद्ध अखिल नेपाल आदिवासी जनजाति महासङ्घ (एकीकृत) कास्कीले २० औं विश्व आदिवासी दिवसको सन्दर्भमा पोखरामा बिहीबार एक अन्तरक्रिया कार्यक्रम आयोजना ग¥यो । “परिवर्तनको मुद्दासहित अग्रगामी संविधान, राज्य संरचनाको आधार, स्वशासन र जातीय पहिचान” विषयक अन्तरक्रिया कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै प्रमुख अतिथि एवं महासङ्घका केन्द्रीय अध्यक्ष नगेन्द्र राईले जनताको सङ्घीय संविधान निर्माणका लागि संविधानसभा बाहिरका दलहरु मोर्चाबद्ध भएर तेस्रो जनआन्दोलन गर्नुको विकल्प नभएको बताए ।

अहिलेको लोकतन्त्र कांग्रेस र एमालेको लोकतन्त्रजस्तो मात्र भएको भन्दै राईले गणतन्त्र समेत गणतन्त्र जस्तो नभएको बताए । विद्यमान संविधानसभाले जारी गर्ने संविधान यथास्थितिको संविधान भएको जिकिर गर्दै राईले संविधानसभाको चुनाव नै बहिष्कार गरेकाले यसले जारी गर्ने संविधान पनि अस्वीकार गर्ने चेतावनी दिए । सबै शक्तिहरूलाई एकै ठाउँमा ल्याउने गरी राजनीतिक सम्मेलनको आयोजना गरी नयाँ संविधानका अन्तरवस्तुमा सहमति गरेर अघि बढ्नुपर्ने बताउँदै उनले अन्यथा, मुलुक द्वन्द्वमा जाने सम्भावना रहेको दाबी गरे ।

अवधारणापत्र माथि टिप्पणी गर्दै मानवअधिकारकर्मी टेकनाथ बरालले समयसँगै परिवर्तन हुन सक्नुपर्ने बताए । बरालले सबैको भावना अटाउने संविधानको खाँचो भएको औंल्याउँदै सबैका असन्तुष्टिलाई खुल्ला छलफल गरेर अघि बढ्नुपर्ने उल्लेख गरे । ‘केहि कुरा सबैलाई मान्य नहोला तर सबैका असन्तुष्टि छलफलमा लैजानुपर्छ ।’ उनले भने – ‘पहिलो संविधानसभा पनि यस्तै असहमतिले असफल भयो । माघ ८ गते संविधान जारी गर्ने भनिरहँदा सबैका कुराहरुमाथि छलफल गरेर टुंगोमा पुग्नुपर्नेछ ।’

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य भक्त रसाइलीले वर्गको कुरा मात्रै गरेर नेपालको कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताउँदै जातीय उत्पीडनको अन्त्य भएमात्र वर्गसंघर्ष अघि बढ्न सक्ने उल्लेख गरे ।

नेकपा–माओवादीसम्बद्ध आदिवासी–जातीय–क्षेत्रीय महासङ्घका तमुवान राज्य समिति सदस्य अर्जुन छन्त्यालले आदिवासी जनजातिहरूको सोझोपनको फाइदा उठाएर शासकहरूले राज्यसत्ताबाट विमुख गराएको उल्लेख गर्दै उत्पीडित जाति र शासक जातिबीच साझेदारी आवश्यक रहेकोमा जोड दिए । उनले अंग्रेजबाट भारत स्वतन्त्र भएपनि अंंग्रेजहरुसँग भएकै सम्झौतालाई समातेर भारतले नेपाललाई स्वतन्त्र हुन नदिएको र सत्ताको लोभमा नेपाली नेताले भारतविरुद्ध टाउको उठाउन नसकेको जनाए ।

एकीकृत नेकपा (माओवादी) कास्कीका सह–सचिव धर्म गुरुङले आफ्नो अवस्थाको निक्र्यौल गर्नुपर्ने बेला आएको बताउँदै जातीय उत्पीडनबाट मुक्ति भएमात्र वर्ग संघर्ष अघि बढ्ने ठोकुवा गरे ।

थकाली सेवा समितिका अध्यक्ष अम्बर तुलाचनले धर्मनिरपेक्ष राज्य हुँदा सबै नेपालीले स्वतन्त्रतापूर्वक आफूखुशी आफ्ना धर्म, चाडपर्व मनाउन पाएको उल्लेख गर्दै अरूले अधिकार पाउँदा कोही दुःखी हुन नहुने उल्लेख गरे ।

नेपाल मगर महिला सङ्घ कास्कीकी सल्लाहकार इन्दिरा थापामगरले महिलालाई हेर्ने दृष्टिकोण र गरिने व्यवहारमा भिन्नता रहेको उल्लेख गर्दै समानतालाई नारामा मात्र सीमित गर्न नहुने बताए ।

कार्यक्रममा प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवर, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कास्कीका उपाध्यक्ष रूद्रबहादुर श्रीसमगर, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य यम गैरे, कृष्ण गुरुङ, अनेरास्ववियु (एकीकृत) कास्कीका अध्यक्ष आङछिरिङ शेर्पालगायतले बोलेका थिए । महासङ्घका कास्की जिल्ला अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव उर्मिला श्रीसमगरले गरेकी थिईन् ।

कमेन्ट गर्नुहोस्
Share: