
पोखरा, भदौ १० । गण्डकी सरकारले जनगुनासो सुन्न ‘हेल्लो मुख्यमन्त्री’ कार्यक्रम सुरु गरेको पहिलो हप्तामा नै ७७ वटा गुनासो रेकर्ड भएका छन् । ती मध्ये ७ वटा गुनासो सम्बोधन भएका छन् भने ७० वटा गुनासो प्रक्रियामा रहेका छन् ।
आईतबार मात्र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सम्बन्धित एउटा गुनासो सम्बोधन भएको छ । नाम र ठेगाना नखुलाई एक व्यक्तिले भदौ ६ गते फोनमार्फत जनैपूर्णिमामा सार्वजनिक बिदा हुनुपर्ने गुनासो टिपाएका थिए ।मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले भने जनैपूर्णिमाकै दिन ‘सार्वजनिक बिदा दिने निर्णय नभएको’ भनेर प्रतिक्रिया दिएको थियो । यो गुनासो ७ गते सम्बन्धित मन्त्रालयमा पठाएको ३ दिनपछि समाधान गरिएको हो ।
गण्डकी प्रदेशले बिदा नदिएतापनि केही विद्यालयहरुले भने स्थानीय बिदा राखेका थिए । प्रदेश नं। २ र ७ ले भने आईतबार सार्वजनिक बिदा नै दिएका थिए।यस्तै भदौ ६ गते नै पोखरा महानगरपालिका २१ बाट नारायण बहादुर थापाले रात्री व्यवसायमा मगर संस्कृति धरापमा परेको गुनासो पोखेका थिए ।
File Photo
