रञ्जन अधिकारी पोखरा, २ भदौ / पृथ्वी राजमार्ग बस सञ्चालक समितिको नयाँ कार्यसमिति पदाधिकारी र सदस्यहरुको सोमबार सपथ ग्रहण तथा पदस्थापन गरिएको छ । गत साउन २९ गते सम्पन्न ४४ औं साधारणसभा तथा अधिवेसनबाट निर्विरोध अध्यक्षमा निर्वाचित ऐनकुमार साई सहित लेखा परीक्षण उपसमिति सदस्यहरुलाई निर्वाचत अधिकृत दामोदर अधिकारीले सपथ ग्रहण गराएका हुन् ।
अधिवेशनले अध्यक्षमा साईलाई निरन्तरता दिँदै अन्य प्रमुख तीन पद सर्वसम्मत चयन गरेको हो । बरिष्ठ उपाध्यक्षमा बिज्ञान श्रेष्ठ, महासचिवमा योगेन्द्र बहादुर केसी र कोषाध्यक्षमा जसबहादुर गुरुङ पुरानै अनुहारलाई सर्वसम्मत चुनेको थियो । यस्तै, निर्वाचनबाट उपाध्यक्षहरुमा ज्ञानबहादुर केसी र भरतकुमार मल्ल, सचिवमा जयप्रसाद शर्मा, सहकोषाध्यक्षमा ओमप्रकाश कार्की र सदस्यहरुमा विरेन्द्रराज श्रेष्ठ, मेघराज त्रिपाठी, हरिशचन्द्र बज्राचार्य, अशोककुमार चौधरी, रमेश कुमार श्रेष्ठ, कृष्णबहादुर बल्छौडी, रमाकान्त गौतम, कमलसिंह तामाङ, मनशोभा गुरुङ विजयी भएका थिए । यस्तै, क्षेत्रीय कमिटि सदस्यहरुमा दिनेशकुमार श्रेष्ठ निर्विरोध चयन भ एभने प्रेमबहादुर बोगटी, श्यामलोचन सापकोटा, खेमबहादुर थापा (ईश्वर), जयकुमार सापकोटा, कैलाश बोहरा, काजिमान श्रेष्ठ निर्वाचित भए ।
लेखा उपसमिति संयोजकमा रेशमबहादुर थापा तथा सदस्यहरुमा टेकबहादुर जिसी र शंकर त्रिपाठी चुनिए । निर्वाचन समिति संयोजक दामोदर अधिकारीले अध्यक्ष साईलाई सपथ गराएका थिए र त्यसपछि अध्यक्षले आफ्ना कार्यसमिति पदाधिकारी सदस्यहरुलाई सपथ खुवाए ।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनपति डिआईजी नारायणबाबु थापाले समयानुसार यात्रुमैत्री सेवा प्रदान गर्न जोड दिँदै व्यवसायिक हित भन्दा सार्वजनिक हितमा महत्व दिन आग्रह गरे । ‘हामी आफ्नो हक अधिकार मात्रै खोजिरहँदा अरुको अधिकारमा पनि ध्यान दिन जरुरी छ ।’ थापाले भने ।
नवनिर्वाचत अध्यक्ष साईले तीन वर्षमध्ये एक वर्ष आफ्नो परीक्षणकाल नै हुने भन्दै सम्पूर्ण व्यवसायीको हक हितमा आफू लागिपर्ने प्रतिबद्धता जनाए । ‘बोल्ने होईन, काम गरेर देखाउने बेला हो ।’ साईले भने ‘तीन वर्षको भारी बोकाउनुभएको छ । सबैको साथ सहयोग लिएर जिम्मेवारी पूरा गर्नेछु ।’ उनले व्यवसायीलाई रंगरोगनका लागि २५ हजार दिँदै आएकोमा अब दोब्बर दिने घोषणा पनि गरे ।
कार्यक्रममा गण्डकी धौलागिरी सार्वजनिक यातायात समन्वय समिति संयोजक बसन्त प्रधान, यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय सदस्य केशव अधिकारी, नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, नेपाली काँग्रेसका तर्फबाट जीत गुरुङ, नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखे, समितिका पूर्व अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य लगायतले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए । निर्वाचन समिति सदस्य अधिवक्ता शिवराज वाग्लेले स्वागत गरेको सो कार्यक्रमको संचालन अर्का सदस्य अधिवक्त हरि पण्डितले गरेका थिए ।
