रञ्जन अधिकारी पोखरा, ४ भदौ / पोखरा उपमहानगरपालिका वडा नं. ८ स्थित कुँवर टोल विकास संस्थाले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा बुधबार ज्येष्ठ नागरिकको सम्मानका साथै शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
सो अवसरमा स्थानीय ९० वर्षीया बृद्धा देवी हिराचन सहित ७० वर्ष उमेरमाथिका २२ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ, नेपालका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला, सिद्धार्थ क्लब पोखराका अध्यक्ष दीपेन्द्र मर्सानी, नारी सेवा समितिकी अध्यक्ष सीता बराल, आदर्श समाज राष्ट्रिय दैनिककी व्यवस्थापक दुर्गादेवी बाँस्तोला लगायतले बृद्धबृद्धालाई सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कृष्णप्रसाद बास्तोलाले माईती र चेलीबीचको सम्बन्धको तीजे पर्वमा बृद्ध बुबा आमालाई स्वागत गरेपछि छोरी टाढा हुने बुबाआमा र बुबा आमा टाढा रहेका छोरीहरु दुवैलाई खुशी मिलेको भन्दै यस्ता कार्यक्रम गरिनुपर्नेमा जोड दिए । ‘सामाजिक गतिविधि, सीप विकास तालिम जस्ता कार्यले यो टोलको भविष्य राम्रो देखेको छु ।’ बास्तोलाले भने – ‘तीजमा महिला दिदीबहिनी निराहार ब्रत बस्नु राम्रो होईन ।’
सिद्धार्थ क्लब पोखराका अध्यक्ष दीपेन्द्र मर्सानीले संस्थाले राम्रो काम गरिरहेकोमा खुशी प्रकट गर्दै हरेक सामाजिक गतिविधिमा हातेमालो गर्दै अघि बढ्ने बताए । नारी सेवा समितिका अध्यक्ष समेत रहेकी गायिका तथा सञ्चारकर्मी सीता बरालले तीज पर्व भड्किलो बन्दै गएका बेला संस्थाले ज्येष्ठ नागरिक सम्मान, तडकभडक रहित सामूहिक दर खाएकोमा प्रशंसा गरिन् । आदर्श समाज राष्ट्रिय दैनिककी व्यवस्थापक दुर्गादेवी बाँस्तोलाले संस्कार र संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जोड दिँदै यसरी नै सबै दिदी बहिन लागेमा तीज पर्व भड्किलोमुक्त बन्ने बताईन् ।
संस्थाकी अध्यक्ष पार्वती पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जाल्पादेवी महिला उद्धार समूही अध्यक्ष पवित्रा केसी, भवानी आमा समूह अध्यक्ष एवं निवर्तमान अध्यक्ष श्रीमाया कुँवर, कार्यक्रम संयोजक सुमिता श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रममा उपाध्यक्ष धनबहादुर दासले स्वागत तथा सचिव राजकुमार श्रेष्ठ र सहसचिव समिक्षा कुँवरले संचालन गरेका थिए ।
