उपचार गर्न थाईल्याण्ड गएका मुख्यमन्त्री सुटुक्क पुगे अमेरिका

749
0
Share:

काठमाडौं, कात्तिक २५ । उपचार गर्न थाइल्याण्ड जान्छु भनेर हिँडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेका छन् । प्रदेश छाडी देशभित्रै पनि हिँडडुल गर्न संघीय सरकारको अनुमति लिनुपर्ने नियम छ । कात्तिक १६ गते बैंकक प्रस्थान गरेका राईले अमेरिका जान संघीय मन्त्रिपरिषदसँग अनुमति लिएका छैनन् । उनको भ्रमणबारे ‘जानकारी नभएको’ परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘निजी खर्चमा उपचार गर्न थाइल्याण्ड जान लागेको पत्रिकामा पढेको थिएँ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘उपचारै गर्नका लागि परराष्ट्रलाई सोधिरहन पर्दैन ।’

परराष्ट्रले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको भ्रमणको प्रोटोकल सिधै हेर्दै आएको छ । देश संघीय संरचनामा गएपछि प्रदेशका मुख्यमन्त्रीहरूको भ्रमण के गर्ने भन्ने व्यवस्था नबनिसकेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा परराष्ट्रले आवश्यक प्रबन्ध गर्दै आएको छ । राईको मामिलामा मन्त्रिपरिषद् कार्यालयले त्यस्तो कुनै सिफारिस, निर्देशन वा बोधार्थ पत्र परराष्ट्रलाई दिएको छैन । ‘एक हिसाबले यो अन्तरिम व्यवस्थाजस्तो हो, कुनै नीति बनिसकेको छैन,’ परराष्ट्रका ती अधिकारीले भने, ‘त्यसैले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नै समन्वय समिति बनाएर कतिपय मामिला परराष्ट्रलाई जानकारी नदिई गर्दै आएको पनि छ ।’ उपचार गर्न एकातिर जान्छु भनी मन्त्रिपरिषदको अनुमतिबिना अर्कैतिर गएकामा मुख्यमन्त्री राईको कूटनीतिक वृत्तबाट आलोचना भएको छ । यसबारे समाचार लेख्दा पत्रकार लोकमणि राई अमेरिकामा कुटिएका छन् ।

कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्
Share: