
६ मंसिर, पोखरा । पोखरा उद्योग बाणिज्य संघले सफल पोखरा एक्सपो तथा तेस्रो मोवाइल मेला २०७५ को तयारी तीव्र पारेको छ । लगानीको सम्वद्र्धनःउद्योग व्यवसायको प्रवद्र्धन भन्ने नाराको साथ मंसिर १३ गतेदेखि मंसिर २४ गतेसम्म हुने मेलाको काम तीव्र पारिएको बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको हो । वर्षेनी आयोजना गर्दै आइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलालाई परिस्कृत गर्दै यो पटकदेखि एक्सपो आयोजना गर्न लागिएको संघका अध्यक्ष दामु अधिकारीले जानकारी दिएका छन् । एक्सपोमा अत्याधुनिक डोममा र साधारण गरी २ सय ५० को हाराहारीमा स्टलहरु रहनेछन् भने ती स्टलमध्ये २० वटा स्टल नितान्त औद्योगिक उत्पादनका रहनेछन् । पोखरा औद्योगिक क्षेत्रमा रहेका उद्योग तथा अन्य उद्योगहरुको सहभागिताले यो एक्सपो उद्यमशीलता चाहनेहरुको लागि महत्वपूर्ण गन्तव्य बन्ने अयोजकले ठहर गरेको छ ।
यसैगरी नेपाल पर्यटन बोर्ड एवं पोखरा पर्यटन परीषदको सहयकार्यमा एक्सपोमा होमस्टे प्रवद्र्धन तथा पर्यटकीय गन्तव्यबारे जानकारी दिने स्टलहरु पनि रहनेछन् भने विभिन्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यबस्तु र लत्ताकपडा, पुष्प प्रदर्शनी, हस्तकलाका सामाग्री, अटो प्रदर्शनी, महिलाहरुका उत्पादनहरु एवं विशेष छुटका साथ विभिन्न ब्राण्डका मोवाइल फोन तथा इलेक्ट्रोनिक सामानहरु पनि एक्सपोका आकर्षण हुनेछन् । पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उदेश्यले एक्सपोको आयोजना गरिएको हो । मोवाइल मेलामा १५ देखि २० वटा ब्राण्डका मोवाइलहरु उपलव्ध हुनेछन् । मेलामा मोबाइल साटफेर समेत गर्न पाइने छ । मोबाइल साटफेर गर्न नेपाल सरकारले जारी गरेको परिचयपत्र प्रमाणका रुपमा देखाउनुपर्ने छ ।
साथै एक्सपोको थप आकर्षणतर्फ लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगितिक कार्यक्रम र लोकनृत्य प्रतियोगिता रहने छन् । प्रवेश टिकटमा दैनिक रुपले पुरस्कारको व्यवस्था गरिएको छ । यस वर्ष दुई पांग्रे सवारी बम्पर उपहारका रुपमा राखिएको छ । गएको वर्ष बम्पर उपहारका रुपमा कार राखिएको थियो । एक्सपो २ लाख दर्शकहरुले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ । एक्सपोका ८५ प्रतिशत स्टलहरु बुकिङ भई सकेका छन् भने मेलाको प्रचारप्रसार तीव्र बनाइएको छ । एक्सपोको प्रवेश टिकट सर्वसाधारणको लागि रु ६० र विद्यार्थीको लागि रु. ४० कायम गरिएको छ । मेलाबाट अनुमानित आम्दानी रु. ९० लाखमा अनुमानित खर्च रु ६० लाख कटाउँदा रु. ३० लाख बचत हुने अनुमान गरिएको छ । यस वर्षको एक्सपो आयोजनाबाट बचत भएको रकम प्रदर्शनी केन्द्रको भौतिक निर्माण तथा विभिन्न सामाजिक तथा व्यवसायिक उत्थानको क्षेत्रमा खर्च गरिने अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।
एक्सपोलाई यसपटक पनि पोखराको औद्योगिक घराना लक्ष्मी हाउसले सघाएको छ । लक्ष्मी समूहको सफल ब्राण्ड एक्सपोको टाइटल स्पोन्सर रहेको र नेपाल मोवाइल बितरक संघ, पोखराले पनि यो वर्ष आयोजकसँग सहकार्य गर्दै आफ्नो मेलालाई यही मेलामा समाहित गरेको पोखरा उद्योग बाणिज्य संघले जानकारी गराएको छ । एक्सपोलाई पोखरा महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले सहयोग गरेका छन् । लक्ष्मी समूहको मूख्य प्रायोजन रहेको एक्सपो नेपाल पर्यटन वोर्ड सहित आइएमई ग्रुपको प्रवद्र्धनमा आयोजना हुन लागेको हो ।
