
रञ्जन अधिकारी पोखरा, ६ भदौ / पोखरा उपमहानगरपालिकाभित्र आर्थिक वर्ष २०७०÷७१ मा तीन सय ६६ योजना अघि बढेकोमा दुई सय ९८ योजना सम्पन्न भएका छन् । उपमहानगरपालिका कार्यालयका अनुसार सडक बोर्ड, कृषि सडक र जगेडा कोष अन्तर्गतका १६ योजना सम्पन्न भए भने नगरपालिकाको आन्तरिक श्रोत अन्तर्गतका तीन सय ४९ मध्ये दुई सय ८२ योजना पूर्ण भएका छन् । एक कृषि सडक योजना र ६७ आन्तरिक श्रोत तर्फका योजना सम्पन्न हुन बाँकी छन् ।
पोखरा उपमहानगरपालिकाले शुक्रबार आयोजना गरेको अघिल्लो आर्थिक वर्षमा सम्पन्न योजना तथा विकास निर्माण कार्यक्रमहरुको वार्षिक प्रगति समिक्षा कार्यक्रममा कार्यकारी अधिकृत झलकराम अधिकारीले प्रस्तुत गरेको कार्यसम्पादन प्रतिवेदन अनुसार आन्तरिक श्रोत अन्तर्गतका योजनाका लागि २० करोड ४३ लाख ९१ हजार अनुमानित बजेटमा जनसहभागिता ६ करोड ६५ लाख बराबरको र नगरपालिकाबाट १४ करोड ३६ लाख २४ हजार रुपैंया विनियोजन भएको थियो ।
कार्यालयले आर्थिक वर्ष २०७०÷७१ लाई समष्टिगत रुपमा सन्तोषजनक मानेको छ । कार्यक्रममा विभागीय प्रमुखहरुले विभाग अन्तर्गत भएका कार्यक्रमहरुको विवरण प्रस्तुत गरेका थिए । आन्तरिक आम्दानी तर्फ अनुमान गरे भन्दा बढि संकलन गरेको पूर्वाधार तथा संरचना विकास समिति विभाग प्रमुख ई. शारदामोहन काफ्लेले जानकारी दिए । आन्तरिक श्रोतबाट ६१ ढलान सडक निर्माण, ५३ पिच सडक निर्माण भएको उनले जनाए ।
आ.व. २०७०÷७१ मा ४१ करोड ९३ लाख २८ हजार आय अनुमान गरिएकोमा यथार्थ आय लक्ष्य भन्दै धेरै अर्थात् ५० करोड ३५ लाख दुई हजार रहेको कार्यालयले जनाएको छ । यसमध्ये आन्तरिक आय ३० करोड २५ लाख ५४ हजार तथा अनुदान तथा ऋणबाट २० करोड नौ लाख ४८ हजार रहेको छ । कर अधिकृत शिवहरि शर्माका अनुसार स्थानीय कर नौ करोड २४ लाख ६४ हजार, दस्तुरबाट आठ करोड, १८ लाख ३० हजार तथा सेवा शुल्कबाट एक करोड ९१ लाख ६३ हजार संकलन भएको छ । २०७०÷७१ मा चालू र पूँजीगततर्फ ५१ करोड ४८ लाख छ हजार बजेट विनियोजन भएकोमा यथार्थ खर्च ४८ करोड ९४ लाख ५४ हजार सात सय ४५ रह्यो । गत वर्षको र चालु आर्थिक वर्षको पेश्की फछ्र्यौटपछि बाँकी १३ करोड ११ लाख नौ हजार पाँच सय १७ रहेको छ ।
विभिन्न योजना शिर्षकमा तीन सय ३४ कार्यक्रम सम्पन्न भएका छन् । आठ करोड १६ लाख बजेट छुट्याएकोमा ६ करोड ३६ लाख खर्च भई एक करोड ८० लाख रकम बाँकी रहेको जनसंख्या तथा सामाजिक विकास विभाग प्रमुख ओमराज पौडेलले जनाए । पोखरा वडा नंं ९ र १९ पूर्ण खोप वडा, पोखरा १६ पूर्ण साक्षरता वडा घोषणा, पोखरा १२ का माछापुच्छ«े, ढिकालेथर र शान्तिपथ टोलका साथै पोखरा १७ को मित्रबन्धु टोल बालश्रम मुक्त टोल घोषणा भईसकेको उनले जनाए । सामाजिक विकासतर्फ ७७.९५ प्रतिशत बित्तिय प्रगति हासिल गरेको पौडेलको दाबी छ ।
संगठन तथा प्रशासन समिति विभागका प्रमुख अनन्तप्रसाद कोईरालाले पोखराका १८ वडामा कूल सात हजार २ सय ९८ जनाले सामाजिक सुरक्षा भत्ता बुझेको जनाए । १६ कर्मचारीहरुलाई विभागीय कारबाही गरिएको, गयलकट्टा मार्फत एक लाख ९० हजार रुपैंया संकलन भएको उनले जनाए ।
भूमि तथा जलश्रोत विकास समिति संयोजक एवं कानुनी अधिकृत नारायणप्रसाद शर्माले पोखरा वडा नंं १, १४ र १८ वडा कार्यालयको जग्गा धनी प्रमाणपूर्जा लिन बाँकी रहेको, पोखरामा आठ खानेपानी निर्माणबाट पाँच हजार पाँचसय नगरबासी लाभान्वित भएको जनाए । उनले विभिन्न स्थानमा सार्वजनिक जग्गा मिचेर बनाईएका घरटहरा, संरचनाहरु हटाईएको बताए ।
कृषि, बन तथा वातावरण समितिका संयोजक निर्मलमानसिंह भण्डारीले पोखराका विभिन्न कृषि कार्यक्रम लागू भएको जनाउँदै कृषकहरुलाई भिन्न खेती गर्ने तालिम, छ सय ९५ स्थानमा वृक्षारोपण कार्यक्रम, छाडा चौपाया तथा भुस्याहा कुकुर नियन्त्रण, विद्युतीय पोलहरुमा वातावरणीय नारा लेखन, विद्यालय स्तरीय वातावरणीय शिक्षा कार्यक्रम लगायतका कार्यहरु भएको जानकारी दिए ।
नगर प्रहरी प्रमुख बसन्त चालिसेले फेवातालमा ढल मिसाउने एक सय ३२ जनालाई कारबाही गरिएको, फुटपाथ प्रयोग गर्नेलाई कारबाही गर्दा एक लाख ५० हजार संकलन भएको जानकारी गराए । नेत्र तिमिल्सिनाले ल्याण्डफिल व्यवस्थापन तथा सरसफाई गतिविधिबारे जानकारी गराएका थिए ।
समिक्षा कार्यक्रममा सहभागीहरुले आमनागरिकको सेवामा समय सापेक्ष नगरपालिका गम्भिर भएर लाग्नुको बिकल्प नभएको स्पष्ट पार्दै नगरपालिकाको सुस्त कार्यप्रति आलोचना गरेका थिए । कार्यक्रममा राजनैतिक दलका नगरस्तरीय प्रतिनिधिहरु, वडा समन्वय समितिका अध्यक्षहरु, नागरिक समाजका प्रतिनिधि लगायतले नगरपालिकाको कामकारबाही बारे जिज्ञासा तथा सुझाव राखेका थिए ।
कार्यक्रमको अध्यक्षता समेत गरेका उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले समीक्षा गोष्ठीमा सहभागीहरुबाट आएका अमूल्य जिज्ञासा र सुझावलाई मनन गरेर अघि बढ्ने बताए । उनले नगरपालिकाका कामहरु क्रमशः सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
यसैबीच, गोष्ठीमा सहभागीको संख्या अत्यन्त न्युन रह्यो । कतिपय सरोकारवाला निकायका प्रतिनिधी समेत उपस्थित थिएनन् । पछिल्ला वर्षहरुमा नगरपालिकाको समिक्षा गोष्ठीमा नगरबासीले कम चासो दिने गरेको पाईएको छ । सेवाग्राहीले नगरपालिकाले दिने सेवाप्रति गुनासो गरिरहँदा कार्यालयले भने सेवाग्राहीको काम नै पहिलो प्राथमिकता भएको बताएको छ । सार्वजनिक नीजि साझेदारी अवधारणा अनुरुप पोखराका सात वडाहरु ३, ४, ६, ७, ८, ९ र १७ नं. मा फोहोरमैला व्यवस्थापन कार्य अघि बढेपनि नगरपालिकाले उठाउँदै आएको ११ वडासँगै यस सानिसा कार्यक्रम लागू भएका वडाहरुमा समेत नियमित फोहोर नउठ्ने गुनासो नगरबासीको छ ।
