
१४ मंसिर,गोरखा ।काठमाडौंमा हुने विरोधसभामा सहभागी हुन हिँडेका गोरखाका शिक्षकहरुलाई स्थानीय प्रशाासनले जिल्लाबाट बाहिरिन रोक लगाएको छ । युनिभर्सल पिस फेडेरेशनको आयोजनामा शुक्रबारदेखि भैरहेको कार्यक्रममा बाधा पुग्न सक्ने भन्दै कार्यक्रममा जान रोक लगाइएको नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष धु्रव भट्टले बताए ।
महासंघको नेतृत्वमा करिब २ सय शिक्षक केन्द्रीय विरोध कार्यक्रममा सहभागी काठमाडौं हिँडेका थिए । उनीहरुले रिजर्भ गरेको बस जिल्ला बाहिरिने नाकामा रोकिएको हो ।‘हामीले शान्तिपूर्ण कार्यक्रममा भाग लिन जान लागेको, यो हाम्रो अधिकार हो भनिरहेका छौँ’ भट्टले भने,‘उहाँहरुले जान दिनुभएन ।’‘हामीलाई गृह मन्त्रालयले नै निर्देशन दिएको हो, उहाँहरुलाई कन्भिन्स गराएरै रोक्न खोजेका छौं, बल प्रयोग गरेका छैनौं’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने ।
नेपाल शिक्षक महासंघको घोषित तेस्रो चरणको कार्यक्रम अन्तर्गत शुक्रबार काठमाडौंको वानेश्वरमा विरोधसभा हुँदैछ । विभिन्न २६ बुँदे माग राख्दै नेपाल शिक्षक महासंघले घोषणा गरेको तेस्रो चरणको धर्ना तथा विरोध कार्यक्रममा नेपाल शिक्षक संघ,एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठनमा आबद्ध शिक्षकहरूले सहभागीता जनाउन लागेका हुन् ।
यसअघि भएका दुई चरणका आन्दोलनमा नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको लिखित सहमतिहरू कार्यन्वयन नभएकाले फेरि आन्दोलन गर्नुपरेको भट्टको भनाई छ । विज्ञापन गरेर पनि पटक पटक स्थगित गरिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षाको मिति तोकेर अबिलम्ब परीक्षा लिनुपर्ने, स्थानीय तहबाट आफू खुशी बनेका कार्यविधि,नियमावली, तथा ऐनको कार्यान्वयन प्रादेशिक र संघीय ऐन बनेपछि मात्रै गर्नुपर्नेलगायतका माग महासंघले राखेको छ ।
