
पोखरा, १९ पुस । कार चलाउन दक्ष नबनी नयाँ कार लिएर सडकमा हिँड्दा ठूलो दुर्घटनाको सामना गर्नुपरेको छ । भाग्यवश मानवीय क्षति भने हुन पाएन । स्कुटर चालक महिला ठूलो दुर्घटनाबाट बचिन् ।
विहीबार दिउँसो ३ बजेर २४ मिनेट जाँदा पोखरा नागढुंगामा ग २ च ७०७२ नम्बरको कारले ग१५प २६३८ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । रातो रंगको नयाँ कार का चालक पोखरा ७ एयरपोर्ट घर भएका ५७ वर्षीय खुशीमान गुरुङ र स्कुटर चालक पोखरा २७ निवासी किरण परियार रहेको कास्की ट्राफिक प्रहरी कन्ट्रोलले जनाएको छ ।
कार पृथ्वीचोकबाट एयरपोर्टतर्फ गईरहेको थियो । यद्यपी स्पीडमा भने थिएन ।
जानकारका अनुसार उनले हालै कार किनेका हुन् । शिकारु चालक गुरुङले ठक्करपछि ब्रेक हान्नुपर्ने ठाउँमा एक्सिलेटर खिच्दा ठूलो दुर्घटना भएको हो ।
ठक्कर दिनासाथ स्कुटरको पछाडि बस्ने लडेर जुरुक्कै उठिन् । कार चालकले तत्काल ब्रेक हानेको भए सामान्य दुर्घटना थियो । तर, एक्सिलेटर थिचेपछि स्कुटर चालक कार मुनि परिन् र घिसार्दै कार घुम्यो । टायरमुनि स्कुटर पर्दा मोटो ज्यानकी किरणलाई टायरले कुल्चनबाट रोकेको थियो । स्कुटर क्षतविक्षत भएको छ । कारको अगाडिको भाग कुच्चिएको छ ।
दुर्घटनापछि प्रहरीले कार र स्कुटरलाई नियन्त्रणमा लिई कास्की ट्राफिक कार्यालय लगेको छ । घाईतेलाई तत्काल फेवा सिटी हस्पिटलतर्फ पठाइएको छ । उनको कम्मरदेखि तलको भागमा चोट लागेको छ ।
