रेम बिक पोखरा १० भदौ । नेपाली फिल्म ‘नाईके’को रिलिज डेट पोस्टपोन्ड भएको छ । फिल्म असोजको ३ गतेदेखि अलनेपाल रिलिज हुने निर्माण कम्पनी ब्ल्याक स्याडो प्रोडक्शनले जानकारी दिएको छ । निर्माण यूनिटले यसअघि काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै भदौ १३ रिलिज डेट तोकेको थियो ।
‘प्राविधिक कारणले काम केहि ढिलो भएकोले फिल्म पछाडी सारेका हौँ ।’ फिल्मका निर्देशक नेत्र गुरुङले भने–‘असोज ३ मा हामीले दशैँको कोशेली स्वरुप नेपाली दर्शकहरुका लागि नाईके प्रदर्शन गर्ने भएका हौँ ।’ फिल्मको काम लगभग पुरा भैसेकेको उनले जानकारी दिए ।
पोखरा र आसपासमा छायाँकन भएको फिल्म ग्याङस्टारहरुको कथामा बनेको फिल्म हो । फिल्ममा आर्यन ग्याङस्टार नाईकेको रुपमा देखिएका छन् । विल्कुलै भिन्न गेटअपमा प्रस्तुत भएका आर्यन यो फिल्मबाट निकै आशाबादी समेत देखिएका छन् । भन्छन्–‘मैले चाहेको जस्तो रोल यो फिल्ममा गर्न पाएको छु, अन्य फिल्मभन्दा यसमा मलाई भिन्दै रुपले दर्शकले पाउनुहुनेछ, आशा छ मलाई दर्शकले माया गरिदिनुहुनेछ ।’
फिल्ममा रेम बिक, बोधराज रेग्मी, सुरविना कार्की, विजयराज सेन्चुरी, सारिका केसी लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । राजिव श्रेष्ठको प्रोडक्शन डिजाईनमा बनेको फिल्मको कार्यकारी निर्माता विष्णु हमाल हुन् । फिल्ममा जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली र आनन्द क्षेत्रीको समेत लगानी छ ।
फिल्मलाई अर्जुन तिवारीले खिचेका हुन् । सानुकुमार महर्जनको द्वन्द निर्देशन रहेको फिल्ममा रोहन नेपालीले कोरियोग्राफि गरेका छन् । ताराप्रकाश लिम्बु, योगेश काजी बिक र रमण गायक फिल्मका संगीतकारहरु हुन् ।
