क्वालालम्पुर, भदौ १० – करिब चार महिनायता दुईवटा ठूला विमान दुर्घटनामा परेर असुरक्षाको प्रश्न उब्जाएको मलेसियन एयरलाइन्सका करिब दुईसय हवाई परिचारिकाले जागिर छोडेका छन् ।
उनीहरुले असुरक्षा बढ्दै गएको कारण सो सेवाबाट राजिनामा दिएको अनुमान गरिएको छ । तर उनीहरुले भने राजिनामा पत्रमा सो प्रश्न नभई आ आफ्नो घरायसी कारण देखाएका छन् ।
तर प्राप्त अर्काे एक समाचारअनुसार भने उनीहरुका आफन्तले सो एयरलान्स असुरक्षित बन्दै गएकोले उनका परिवारले उक्त जागिर छोड्न दबाब दिएका बताइएको छ । विगतमा निकै सुरक्षित मापदण्डका अपनाउने विमानका रुपमा चिनिएको सो एयरलान्स पछिल्लो समयमा असुरक्षित हुन पुगेको बताउने गरिएको छ ।
सो एयरलाइन्सको एउटा विमान छ महिनाअघि नै हराएको थियो । अहिलेसम्म त्यसको कुनै पत्तो लागेको छैन भने अर्काे विमान दुई महिनामात्र अघि युक्रेनमा दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनाग्रस्त सो विमानलाई भने युक्रेनका विद्रोहीले गोलीहानी खसालेको दाबी सो एयरलाइन्सले गरेको छ । त्यस विषयमा छानबीन जारी रहेको छ । गएको सात महिनामा सो एयरलाइन्सका १८६ जना परिचारिकाले आफ्नो पदबाट राजिनामा दिएका छन् । उनीहरुले घरायसी कारण देखाएर राजिनामा दिएका बताइएको छ ।
