रञ्जन अधिकारी पोखरा, ११ भदौ / जुनियर रेडक्रस सर्कल मेरीगोल्ड आवासीय उमावि, पोखरा १५ रामबजारले बाढीपीडित सहयोगार्थ संकलन गरेको रकम बुधबार जिल्ला रेडक्रस सोसाईटी कास्कीलाई हस्तान्तरण गरेको छ ।
विद्यार्थीले आफ्ना खाजा खर्च कटाएर, शिक्षक तथा रामबजार क्षेत्रमा घरदैलो गरी संकलन गरेको ५२ हजार पाँच सय ६४ रुपैंया बराबरको चेक रेडक्रस कास्कीका मन्त्री कृष्ण तिमिल्सिनालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिराम गुरुङले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।
प्रमुख अतिथि समेत रहेका गुरुङले प्राकृतिक बिपत्तिका कारण मुलुक आक्रान्त बनिरहेका बेला थोरै भएपनि सहयोग गर्ने उद्देश्यले विद्यार्थीहरुको यो सक्रियता प्रशंसनीय रहेको बताए । ‘सामाजिक उत्तरदायित्व बहन गर्दै एक रुपैंया, दश रुपैंयाका दरले रकम संकलन गर्ने कार्य निकै प्रशंसायोग्य छ ।’ उनले भने– ‘रकम कति संकलन भयो भन्ने सवाल होईन, दुःखीको आहत मनलाई राहत दिने उद्देश्यले गरेको यो कार्यमा विद्यालयका शिक्षक तथा टोलबासी पनि सहयोग रह्यो ।’
रेडक्रस, कास्कीका मन्त्री कृष्ण तिमिल्सिनाले रेडक्रसको सिद्धान्त नै दुःखमा पर्नेलाई सहयोग गर्नु रहेको भन्दै अरुलाई सहयोग गरे आफू दुःखमा पर्दा पनि सहयोग मिल्ने बताए । रेडक्रसमा आएका रकम कुनै हालतमा दुरुपयोग नहुने स्पष्ट पार्दै उनले सरकारको सहयोगी भएर बैधानिक हिसाबले रेडक्रसले काम गर्दै आएको जनाए ।
रेडक्रस उपशाखा १५ रामबजारका पूर्व सभापति प्रकाश पौडेलले विद्यार्थीहरुले निकै राम्रो अभियान चलाएको भन्दै खुशी व्यक्त गरे । सर्कलका शिक्षक नायक डिल्लीराम काफ्लेले बाढीपीडितहरुको दुःखमा थोरै भएपनि साथ दिने उद्देश्यले राहत संकलन कार्य गरिएको जनाए ।
कार्यक्रमको अध्यक्षता समेत गरेका सर्कलका अध्यक्ष मदन सुवेदीले विद्यार्थी, शिक्षक, विद्यालय र स्थानीयबासीको सबैको सहयोगले राहत संकलन अभियानले सार्थकता पाएको भन्दै धन्यवाद दिए । कार्यक्रमको सञ्चालन फोवी गुरुङ र सपना गुरुङले गरेकी थिईन् ।
