‘बिर्खेलाई चिन्छस्’ भदौ २० देखि देशव्यापी प्रदर्शन

Share:

रञ्जन अधिकारी पोखरा, ११ भदौ / सामाजिक कथाबस्तु बोकेको हाँस्य तथा व्यंग्य मिश्रित चलचित्र ‘बिर्खेलाई चिन्छस्’ यही भदौ २० देखि पोखरा लगायत मुलुकभरका हलहरुमा प्रदर्शनमा आउने भएको छ ।

निर्माण युनिटले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराए अनुसार बेरोजगारी, मंहगीबाट आक्रान्त साधारण गाउँले युवा र शहर पसेपछिका उनका अवस्थालाई चित्रण गरिएको सो फिल्म नेपाली परिवेशमै बनेको सबैका लागि हेर्न योग्य फिल्म हो ।

चलचित्रका नायक तथा निर्माता सुवास थापाले देश हाँक्ने जिम्मेवारी लिन सक्ने एउटा युवा अरुको प्रयोगले कसरी रुमलिन्छ ? उसका सपनाहरुमाथि कसरी खेलिन्छ ? आर्थिक दुरावस्थाको पीडाले कसरी भौतारिन्छ भन्ने विषयलाई नै चलचित्रमा उठाएको जनाए । मानवीय संवेदनालाई बोकेको यो चलचित्रमा भ्रष्ट राजनीतिलाई व्यंग्य पनि गरिएको उनले बताए ।

birkhelai-chinchas-poster

व्यवसायिकताका नाममा समाजमै अपाच्य दृश्य र संवाद भित्रिएकोमा असन्तुष्टि जनाउँदै उनले सामाजिक उत्तरदायित्व बिर्सेर आफू कहिल्यै यस्ता चलचित्रको पछि नलाग्ने बताए । गाउँले नामबाटै फिल्मको नामाकरण गरिएको जनाउँदै अधिकांश नेपाली युवाको कथा बोकेको यो चलचित्रको मुख्य पात्र बिर्खेलाई चिन्न हलसम्मै पुग्नुपर्ने बताए । ‘बिर्खेको ट्रेलर, प्रोमो हेर्दा हाँस्य फिल्म जस्तो देखिएपनि यसले समाजलाई बोकेको छ । फिल्म चल्नेमा आशावादी छु ।’ थापाले भने– ‘एक पटक हलमा पुगेर हेरिदिनुस् । तपाई सकारात्मक सोचका साथ आशावादी भएर हलबाट निस्कनुहुनेछ ।’

चर्चित ¥यापर अराज केशवले निर्देशन गरेको पहिलो चलचित्रमा नायक सुवास थापा स्वयंको लगानी रहेको छ । नाटक थियटरबाट फिल्म नगरीमा प्रवेश गरेका सुवासले दर्जन बढि चलचित्रमा अभिनय गरिसकेका छन् । नाम सुन्दै कमेडी लाग्ने यो चलचित्र प्रमुख पात्र बिर्खेकै वरपर घुमेको छ । चलचित्रमा नाटक थियटरकै नायिका बिनिता खड्का र ¥याम्प मोडल आयुषा राईका साथै शिशिर भण्डारी, सुरेश उप्रेति, बालदीप राई, सुरवीर पण्डित लगायतको मुख्य भूमिका छ । जगदिश्वर थापाको कथा, पटकथा र संवाद रहेको सो चलचित्रमा मोहित मुनालको संगीत, निरज कँडेल र रामशरण उप्रेतिको छायांकन, बनिश शाहको सम्पादन रहेको छ । सन्तोष लामा, मोहित मुनाल र प्राश्ना शाक्यले गीतमा स्वर दिएका छन् । दोलखाको चरिकोटको एक गाउँमा छायांकन गरिएको चलचित्रमा बाँकी दृश्य काठमाण्डौंको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: