माध्यमिक तहमा विषय शिक्षकको अनिवार्य व्यवस्था गर्न आयोगको सुझाव

Share:

काठमाडौं – उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले माध्यमिक तहमा विषय शिक्षकको अनिवार्य व्यवस्था गर्न सिफारिस गरेको छ ।

माध्यमिक तहमा गुणस्तरीय सिकाइ नहुनुको मुख्य कारण गुणस्तरीय विषय शिक्षकको अभाव रहेको भन्दै माध्यमिक तहमा विषय शिक्षकको अनिवार्य व्यवस्था गर्न आयोगले सुझाव दिएको हो । देशभरका अधिकांश विद्यालयमा योग्यता प्राप्त दक्ष र स्वउप्रेरित विषय शिक्षक ज्यादै न्यून भएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी प्रतिवेदनमा हालका राहत र अनुदान शिक्षक कोटा लगायतलाई स्थायी शिक्षक दरबन्दीमा रुपान्तरित गर्ने र शिक्षक दरबन्दी स्थायी मात्र रहने व्यवस्था गर्ने उल्लेख छ । आयोगले शिक्षक सेवा आयोगले प्रतिस्पर्धात्मक परीक्षामार्फत छनोट गरी दक्ष र उत्प्रेरित सबैलाई आगामी ३ वर्षभित्रै स्थायी शिक्षक दरबन्दीमा रुपान्तरित गर्ने नीति लिन सुझाव दिएको छ ।

तत्कालिन आवश्यकता पूर्तिको लागि लागि बढीमा एक शैक्षिक सत्रको अवधिका लागि मात्र करारमा शिक्षक रहेन व्यवस्था गर्न, कुनै पनि विद्यालयमा एक जना शिक्षक कार्यतर रहने अवधि ५ वर्षको बनाउने त्यसपछि स्वतः सरुवा गर्ने नीति बनाउन आयोगले सुझाव दिएको छ । देशभरका सबै शिक्षकलाई शिक्षक तालिमका बहु विधिहरु प्रयोग गरेर २ वर्षमा तालिम प्राप्त बनाइ सक्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा दक्ष शिक्षक आपूर्ति र गुणस्तरीय शिक्षाको लागि शिक्षक तालिमको व्यवस्था गर्न हरेक प्रदेशमा शिक्षण एकेडेमीको व्यवस्था गर्ने उल्लेख छ । यसका लागि संघ र प्रदेश सरकारले शिक्षण कलेज (कलेज अफ एजुकेशन) वा खुला विकल्प समेत अवलम्बन गर्न सकिने छ ।

कमेन्ट गर्नुहोस्
Share: