छैटौं तीज गीत प्रतियोगितामा कामधेनु महिला कृषक समूह, हेमजा प्रथम

Share:

रञ्जन अधिकारी पोखरा, १२ भदौ / पोखरा १२ पुरानोधारा स्थित आदर्श समाज (सामाजिक संस्था) ले नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा बिहिबार छैटौं खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा हेम्जाको कामधेनु महिला कृषक समूह प्रथम हुँदै नगद १० हजार प्राप्त गर्न सफल बन्यो ।

कूल १६ टोलीको सहभागिता रहेको प्रतियोगितामा कालिका आमा समूह, काहुँले द्वितीय स्थान प्राप्त गर्दै नगद सात हजार, पञ्चकन्या आमा समूह, पुम्दीभुम्दीले तृतीय स्थान प्राप्त गर्दै नगद चार हजार प्राप्त ग¥यो भने हेम्जाको देवीस्थान भजन समूह र अमरसिंह दृष्टिविहिन समूहले सान्त्वना हुँदै जनही दुई हजार पुरस्कार पाए । नमूना आमा समूह बगर भेषभूषतर्फ र महिला क्लब पोखरा नृत्यतर्फ उत्कृष्ट हुँदै १५÷१५ सय बाट पुरस्कृत भए । उत्कृष्ट नृत्य प्रस्तुत गरेका दर्शक ममता मगर र शुभेच्छा अधिकारीले गिफ्ट ह्याम्पर प्राप्त गरे । प्रतियोगिताको निर्णायक संयोजकमा गायक पदमराज ढकाल, केशव देवकोटा, माया गिरी र सरस्वती रहेका थिए ।

यसअघि, कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथि कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले संस्थाले सांस्कृतिक पर्वको सम्वद्र्धन र प्रवद्र्धन गर्दै आएकोमा खुशी व्यक्त गर्दै यस्तै कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

विशेष अतिथि सभासद् शारदा पौडेलले संविधानसभामा हाल एक सय ७२ जना महिला सभासद्हरु रहेकाले महिलाको मुद्धामा सबै एकजुट भएर उभिएको जानकारी दिँदै अब महिला अधिकार स्थापित गरेरै छाड्ने बताईन् । ‘विभेदकारी विधेयक विरुद्ध पनि हामी लडेका छौं । महिलाहरुले अब आफ्नो क्षमता अभिवृद्धि गरी देशको नेतृत्व लिन सकौं’– उनले भनिन् – ‘महिलाबाटै महिलालाई हिंसा, यातना दिने काम भएको छ । हामी महिलाहरु नै सचेत हुनु जरुरी छ ।’

अर्का विशेष अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले तीजमा आएको विकृति विरुद्ध महिलाहरु एकजुट भएर लाग्नुपर्ने भन्दै मौलिक र परम्परागत तीजे भाका संरक्षणका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । आदर्श समाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक समेत रहेका बास्तोलाले सांस्कृतिक पर्वमा विकृति घुस्न नदिन मिडिया जिम्मेवारपूर्ण भएर लाग्नुपर्ने पनि बताए ।

संस्थाका पूर्व अध्यक्ष शम्भुराज बास्तोलाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सामाजिक सेवा गर्दै संस्था २४ वर्ष पार गरेको जनाए । संस्थामा ६९ जना सदस्य आबद्ध रहेको पनि उनले जानकारी दिए ।

आदर्श समाज महिला समूहको विशेष सहयोगमा भएको कार्यक्रममा पुरानोधारा बाल क्लबबाट राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । निर्णायक सदस्यहरुले आफ्ना प्रस्तुति पनि राखेका थिए भने कलाकारहरु निर्मला सुवेदी, ईश्वरी राना मगर, संगीता आलेमगर, गौरी गुरुङ लगायतको गायन तथा नृत्य प्रस्तुति रहेको थियो ।

संस्थाका अध्यक्ष कृष्णप्रसाद कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चन्द्रप्रकाश कोईरालाले स्वागत तथा सचिव बसन्तराज कोईराला र सुमित्रा कोईरालाले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: