
बिग न्यूज
पोखरा, १३ माघ । पोखरा १७ विरौटाकी कुसुम तामाङ सबैभन्दा पछिल्लो ‘मिस तामाङ’ बनेकी छन् । निर्णायकले सोधको प्रश्नमा अन्य प्रतिस्पर्धीभन्दा खरो उत्रिएर जवाफ फर्काएसँगै उनी उपाधीको दाबेदार बनेकी थिईन् । उनले प्रतियोगिताका बाँकी १३ जना प्रतिस्पर्धीलाई अन्ततः उछिनेरै छाडिन् ।
पाइलट विजय लामाले सोधेका थिए, ‘बहुल जाति, भाषा, धर्म, सँस्कृति छन् विशाल भन्ने राष्ट्रियगानको लाइनले के अथ्र्याउँछ ?’ कुसुमले निर्णायकलाई उत्तरमा प्रभाव पारिन् ।
विजेता कुसुमले बेस्ट पर्सनालिटी टाइटल पनि जितिन् । उनले नगद ५० हजार पुरस्कार, ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गरेकी छन् । उनले म्युजिक भिडियोमा अभिनयको अवसर पनि प्राप्त गर्ने आयोजकले बताएको छ ।
उनलाई प्रमुख निर्णायक लामाले पुरस्कृत गरेका थिए भने मिस तामाङ पोखराका २०१८ का विजेता कविता योञ्जनले क्राउन लगाइदिएकी थिईन् ।
त्यस्तै नालामुखकी प्रिती तामाङ ‘मिस कन्फिडेण्ट’को टाइटलसंगै फस्ट रनरअपको उपाधी जितिन् । उनले नगद ३० हजार सहित ताज, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । रामेछापका सजना वाइवा मिस ट्यालेण्टको टाइटलसंगै सेकेण्ड रनरअप बनिन् । उनले नगद २० हजार रुपैयाँ पुरस्कार, ताज, ट्रफी र प्रमाणपत्र हात पारिन ।
लामागाउँका श्वेता पाख्रिनले ‘मिस पपुलर’को टाइटलसंगै ‘भ्यूअर्स च्वाइस अवार्ड’ हात पारिन् । उनले नगद १५ हजारले पुरस्कार प्राप्त गरिन् ।
प्रतियोगितामा देशभरबाट तामाङ समुदायको १४ जना युवती सहभागी थिए ।
बैदाम तामाङ समाज पोखराले २८५५ औ सोनाम ल्होसारको अवसर पारेर मिस तामाङ पोखराको आयोजना गरेको थियो । प्रतियोगिताको ग्राण्ड फिनाले अन्तरगत निर्णायकहरुमा अभिनेता तथा पाइलट विजय लामा, कोरियोग्राफर तथा अभिनेता प्रशान्त ताम्राकार, पोखरा विश्वविद्यालयका सह प्रशासकिय अधिकृत तथा पहिलो मिस पोखराका फस्ट रनरअप रजनी केसी, मिस तामाङ नेपालका संयोजक रञ्जिता लामा र गायक तथा संगीतकार श्यामसुङ तामाङ रहेका थिए ।
कार्यक्रम समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको थियो ।

