जनताको जीवनस्तर सुधारमा प्राथमिकता दिएका छौ-मुख्यमन्त्री गुरुङ

Share:

१३ माघ,म्याग्दी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रोजगारी सिर्जना र आम्दानी वृद्धि गरी जनताको जीवनस्तर सुधारमा प्राथमिकता दिइएको बताएका छन् । म्याग्दीको मुनामा आईतबार धौलागिरि गाउँपालिकाको पाँचौँ गाउँसभाको उद्घाटन समारोहमा मुख्यमन्त्री गुरुङले विकास र जनताको आर्थिक अवस्था सुधार गर्नु नै मुख्य प्राथमिकता रहेको बताए ।

‘‘पर्यटन, जलविद्युत, कृषि र उद्यमको विकास गरी जनताको आम्दानी वृद्धि गराउनु गण्डकी प्रदेशको लक्ष्य हो’’ मुख्यमन्त्री गुरुङले भने, “खानेपानी, शिक्षा, स्वास्थ्य, सडक, विद्युत् सेवामा आम नागरिकको पहुँच वृद्धिमा जोड दिएका छौँ ।”

मुख्यमन्त्री गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र ढोरपाटन शिकार आरक्षको बीचमा रहेको राष्ट्रिय वन क्षेत्रको संरक्षणसँगै पर्यटन विकासका लागि म्याग्दी, मुस्ताङ र बागलुङलाई समेटेर धौलागिरि संरक्षण क्षेत्र आयोजना सञ्चालन गर्ने प्रस्ताव गरे । सबै गाउँपालिकाको केन्द्रमा सडक, सबै घरमा विद्युत्, स्वच्छ खानेपानी, स्थानीय तहका केन्द्रमा सभाहल र स्वास्थ्यचौकीको भवन निर्माण गरिने मुख्यमन्त्री गुरुङले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: